राजनीति

इलाम–२ को उपनिर्वाचनमा एमालेबाट सुहाङसहित छ जनाको नाम सिफारिस

सिफारिसमा परेका उम्मेदवारहरू क्रमशः रवीन्द्र सुवेदी, सुहाङ नेम्बाङ, बुद्धि खनाल, रिपल राई, डा.देवी क्षेत्री दुलाल र नरेन्द्रनाथ भट्टराई।

आउँदो वैशाख १५ मा इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) ले उम्मेदवारको आकांक्षा राखेका छ जनाको नाम केन्द्रमा सिफारिस गर्ने भएको छ।

आकांक्षीबीच सहमति हुन नसकेपछि आकांक्षी सबैको नाम सिफारिस गर्ने निर्णय भएको एमालेले जनाएको छ। आज (आइतबार) बसेको सचिवालय बैठकले पार्टी जिल्ला उपसचिव रवीन्द्र सुवेदी, २ नम्बर क्षेत्रीय संयोजक बुद्धिप्रसाद खनाल, सुहाङ नेम्बाङ, नरेन्द्रनाथ भट्टराई, डा.देवी क्षेत्री दुलाल र रिपल राईको नाम केन्द्रमा पठाउने निर्णय गरेको हो। जिल्लाले भोलि (सोमबार) सचिवालयको निर्णय केन्द्रमा सिफारिससहित पठाउने जिल्ला सचिव उमेश गुरुङले बताए।

सचिवालयमा सबै आकांक्षीको विषयमा गहन छलफल भएको तर आकांक्षीको संख्या नघट्ने अवस्था भएपछि सबैको नाम सिफारिस गर्नुपरेको सचिव गुरुङले बताए। ‘शनिबार पनि छ जना आकांक्षीसँग उम्मेदवार छनोट कार्यदलले सहमतिको प्रयास गर्दा सहमति भएन,’ उनले भने, ‘सहमति नहुँदा छ जनाकै नाम सचिवालयमा पठाइएकामा सचिवालयले पनि छ जनाकै नाम सिफारिस गर्ने निर्णय गरेको छ।’

केन्द्रको अन्तरपार्टी निर्देशनमा आकांक्षीमध्ये एक महिलासहित तीन जनाको नाम जिल्लाले सिफारिस गर्नुपर्ने उल्लेख छ। तर, सचिवालयमा सहमति नहुँदा छ जनाकै नाम केन्द्रमा सिफारिस गरिने भएको हो। एमालेले यसअघि जिल्ला उपाध्यक्ष उदयबहादुर राई संयोजकत्वको कार्यदल गठन गरेको थियो। कार्यदलले उम्मेदवारका आकांक्षीको नाम दर्ता गरेको थियो। पार्टी केन्द्रले चैत १५ भित्रमा उम्मेदवार टुंगो लगाउने सम्भावना रहेको एमालेले जनाएको छ।

एमाले नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको गत भदौ २६ गते निधन भएपछि इलाम क्षेत्र २ को प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो। सचिवालयले उम्मेदवारमा सिफारिस गरेकामध्ये सुहाङ नेम्बाङ सुवासचन्द्रकै कान्छा छोरा हुन्।

प्रकाशित: ४ चैत्र २०८० १८:१९ आइतबार

इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन सुहाङ नेम्बाङ