राजनीति

एमाले कैलाली अधिवेशन आजदेखि,अध्यक्षमा तीन जना आकांक्षी

नेकपा एमाले कैलालीको अध्यक्षका लागि तीनजना आकांक्षी देखिएका छन्। आज सुरु हुने अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गर्ने भएका छन्।

फागुन ६ र ७ गते कैलालीको मध्यवर्ती क्षेत्र सुख्खडमा हुने जिल्ला अधिवेशनले नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्ने छ। सुदूरपश्चिम प्रदेशमा सवैभन्दा बढी ५ प्रतिनिधि सभा र १० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको कैलालीको जिल्ला नेकपा एमालेको अधिवेशनलाई यस क्षेत्रमा चासाको साथ हेरिएको छ।

अध्यक्षका लागि नेकपा एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा जोशी, सचिव डेजी पाण्डेय र युवा नेता यज्ञराज ढुंगाना आकांक्षी देखिएका छन्। अधिवेशन सुरु भएपछि सहमतिको प्रयासका लागि बन्दसत्र लम्बिएर समय खर्च र व्ययभार बढी हुने भन्दै अधिवेशनपूर्व नै आकांक्षीका नाम संकलन गरिएको एमाले कैलालीका इन्चार्ज तथा पोलिटब्युरो सदस्य गणेश ठगुन्नाले बताएका छन्। फागुन ३ मै आकांक्षीलाई आफ्नो इच्छा भएको पदमा दाबी पेस गर्न लगाइएको थियो।

उपाध्यक्षका लागी आठजना, सचिवका लागि १२ र उपसचिवका लागि ३० जनाले दाबी प्रस्तुत गरेका छन्। इच्छुक पदाधिकारीले कार्यकर्तामाझ र नेताहरुसँग लबिङ गरिरहेका छन् भने नेताहरुले सहमतिको प्रयास गरिरहेका छन्।

प्रकाशित: ६ फाल्गुन २०८० १३:३२ आइतबार

नेकपा एमाले कैलालीको अधिवेशन नयाँ नेतृत्व चयन