राजनीति

आज सहिदहरूका सपना पूरा गर्न सङ्कल्प गर्ने दिनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले आजको दिन सहिदहरूले देखेका सपना पूरा गर्ने दिन रहेको बताएका छन्।

सहिद स्मारक लैनचौरमा सहिद दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै उनले सहिदहरूले देखेका सपना र उहाँहरूले गरेका अठोटलाई शीरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभारहरू पूरा गर्न सङ्कल्प गर्ने दिन भएको बताए।

उनले भने, 'नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान् सहिदहरूले उच्च बलिदान गर्नुभएको छ। राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा सङ्घर्ष गर्ने क्रममा बलिदान गर्ने शहिदहरू विगत, वर्तमान र भविष्यका निम्ति हामी सबैका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक रहिरहनेछन्।'

सहिदका सपना पूरा गर्नका निम्ति मन, वचन र कर्मले सबै क्रियाशील रहनुपर्ने बताउँदै प्रधानमन्त्रीले शहिदहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरे।

उनले जहानीया राणाशासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका निम्ति वि.सं. १९९७ सालमा आफ्नो जीवनको बलिदान गर्नुहुने महान् शहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ लगायतका सहिदको स्मरण र सम्मान गरे।

सम्पूर्ण बेपत्ता योद्धाहरूको उच्च सम्मानपूर्वक स्मरण गर्दै प्रधानमन्त्रीले भने, 'घाइते योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घजीवनको कामना गर्दछु।'

सरकारले प्रत्येक वर्ष माघ १६ लाई सहिद दिवसको रूपमा मनाउँदै आएको छ।

प्रकाशित: १६ माघ २०८० ०४:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App