राजनीति

जसपाको केन्द्रीय राजनीतिक समिति बैठक आजदेखि, आगामी महाधिवेशनबारे छलफल हुने

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आजदेखि सुरु हुँदैछ। 

ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेगरी बैठक बोलाइएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

दुई दिनसम्म चल्ने बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ।

साथै पार्टीका नेताहरुको सक्रियतामा भएका कार्यहरुको प्रगति विवरण सम्बन्धी प्रतिवेदन प्रस्तुत हुने बस्नेतले बताए। उनका अनुसार यही पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ।

केन्द्रीय समितिको बैठकमा महाधिवेशनको मिति र समय तय हुन सक्ने सम्भावना रहेको उनले बताए।

२०७७ वैशाख १२ गते जसपा पार्टी गठन गरिएको थियो। कानुन अनुसार पार्टी गठन भएको ५ वर्ष भित्र महाधिवेशन गरिसक्नु पर्छ। तर यस पटक ५ वर्षीय समय सीमाभन्दा धेरै अगाडि महाधिवेशन गरिसक्ने जसपाको तयारी छ।

प्रकाशित: २५ पुस २०८० ०१:२४ बुधबार

जनता समाजवादी पार्टी जसपा केन्द्रीय राजनीतिक समिति बैठक ज्यापु प्रज्ञा भवन प्रगति विवरण