राजनीति

मानार्थ दर्जा दिएकामा खुशी छु : राष्ट्रकवि घिमिरे

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल सरकारले आफूलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दर्जा दिएकामा खुशी व्यक्त गरेका छन्।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले राष्ट्रकवि घिमिरेलाई उक्त दर्जा दिने निर्णय गरेको थियो । लैनचौरस्थित निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले देशमा अनुशासन रहेको एक मात्र संस्था नेपाली सेना रहेको जनाउँदै देशको माटो र गरिमाको रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताए।

उनले भने, “मुलुकमा शान्ति र स्थिरताका लागि सेनाले महत्वपूर्ण भूमिका खेलेको छ, मलाई दिन लागिएको दर्जाप्रति मलाई सन्तोष लागेको छ। ”सेनाले एक समारोह गरी सो दर्जा प्रदान गर्नेछ।

यसैबीच राष्ट्रकवि घिमिरेको बहुप्रतिक्षित ‘ऋतम्भरा’ महाकाव्य साझा प्रकाशनले प्रकाशन गर्ने भएको छ । सो प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले सो कृति प्रकाशनका लागि सम्झौता भएको बताउँदै पुल्चोकस्थित साझा प्रकाशनमा पुनःनिर्माण हुन लागेको भवनमा एक ‘राष्ट्रकवि हल’ बनाउने जानकारी दिए।   (रासस)

प्रकाशित: २७ माघ २०७४ १०:०४ शनिबार

मानार्थ दर्जा दिएकामा खुशी छु राष्ट्रकवि घिमिरे