राजनीति

चूडामणी शर्माविरुद्ध अर्को भ्रष्टाचार मुद्दा, श्रीमतीको नाममा रहेको सम्पति जफत गर्न माग

काठमाडौं- आन्तरीक राजस्व विभागका तत्कालिन महानिर्देशक चूडामणी शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोले अर्को मुद्दा दायर गरेको छ। कर फर्छ्योट आयोगमार्फत अर्बौं रुपैयाँको कर मिनाहा दिएको अभियोगमा दायर मुद्दा विचाराधीन रहेकै बेलामामा अख्तियारले शर्माविरुद्ध चार करोड उनान्तीस लाख चवन्न हजार एक सय चौवीस रुपैयाँ विगो दावी गर्दै विशेष अदालतमा अर्को मुद्दा दायर गरेको हो। वैध आयको तुलनामा उक्त रकमको स्रोत खुल्न नसकेको देखिएको अख्तियारले जनाएको छ।

यसका अतिरिक्त शर्माले सार्वजनिक सेवाको पदमा रहेर गैर कानूनी रुपमा आर्जन गरी, स्रोत पुष्टी हुन नसकेको सम्पत्तिहरू श्रीमती कल्पना उप्रेती शर्माको नाममा राखेको तथा लुकाए-छिपाएको देखिएको भन्दै अख्तियारले सम्पत्ति जफतको लागि उनीमाथी पनि आरोपत्र दायर गरेको छ।

सार्वजनिक सेवामा प्रवेश गरे पछि २०७३ मंसिर मसान्तसम्म उनले आफ्नो तथा आफ्नो परिवारका सदस्यहरुको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्ती ३ करोड ६३ लाख ७२ हजार ९ सय ६१ आय आर्जन गरेको देखिएको अख्तियारले जनाएको छ। सोही अवधिमा चल अचल सम्पत्ति सृजना एवं शेयर लगानी लगायतका शिर्षकहरुमा समेत गरी उनले ७ करोड ९३ लाख २७ हजार ८५ खर्च गरेको देखिएको अख्तियारले जनाएको छ। उनको आय  र खर्चको तुलनामा चार करोड उनान्तीस लाख चवन्न हजार एक सय चौवीस रुपैयाँ बरावरको सम्पत्तीको स्रोत नखुलेको अख्तियारले जनाएको छ।

शर्मा र उनको परिवारले अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरी आफ्नो हैसियत भन्दा बढी रकम आफ्नो र श्रीमती तथा छोराहरुको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा मौज्दात देखिएको आरोप लगाइएको छ। यस्तै बिभिन्न बित्तिय संस्थाहरु तथा प्रा.लि. एवं कम्पनिहरुका शेयर खरिद तथा लगानी गरेको, सवारी साधन खरिद एवं घर निर्माण तथा जग्गा लगायतका चल अचल सम्पत्तिहरु खरिद गरेको देखिएको अख्तियारले जनाएको छ।  

 

प्रकाशित: १५ माघ २०७४ १२:०८ सोमबार

चूडामणी शर्माविरुद्ध भ्रष्टाचार मुद्दा श्रीमतीको नाममा रहेको सम्पति जफत गर्न माग