राजनीति

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस

काठमाडौं – प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको अधिकतम सिट हासिलका लागि रणनीति बनाउने भएको छ। विहीबारदेखि शुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभाको निर्वाचनमा कसरी बढीभन्दा बढी सिट हासिल गर्ने भन्नेबारे बहस चलाएको हो।

काँग्रेसले वाम गठबन्धनबाहेकका राष्ट्रिय जनता पार्टी (राजपा)लगायत अन्य साना राजनीतिक दलसँग चुनावी तालमेल गरेर जाने विषयमा पनि धारणा बनाउने छ। सरकारले यही माघ २४ गते राष्ट्रियसभाको सदस्य निर्वाचनका लागि मिति घोषणा गरेको छ।

राजपालगायत कम सिट भएका दलसँग पनि सहकार्य गरेर अधिकतम सिट हासिल गर्नेगरी रणनीति बनाउने सम्बन्धमा केन्द्रीय समितिमा छलफल भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायत पार्टी नेताहरू उपस्थित थिए।

प्रकाशित: ४ माघ २०७४ १६:२२ बिहीबार

राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउँदै काँग्रेस