राजनीति

जुम्लामा राजधानी माग गर्दै काठमाडौंमा आन्दोलन गर्ने चेतावनी

जुम्ला- ६ नम्वर प्रदेशको राजधानी कर्णालीमै हुनु पर्ने माग राख्दै थालिएको आन्दोलन जुम्लामा पेचिलो बन्दै गएको छ। संघीयताको मर्मले दुर्गम र पिछडिएका क्षेत्रमा सेवा सुविधा उपलव्ध गराउने भएपनि नेपालका सुविधामुखी राजनैतिक दलका कारण माथि उस्कन नसकेको भन्दै राजधानी कर्णालीमै हुनको लागि निरन्तर आन्दोलन भईरहेको हो।

नागरिक समाज जुम्लाले आन्दोलनका फरक स्वरुप अपनाएर अघि वढेको छ। विरोध प्रदर्शन, मसाल, जुलुस, सिठ्ठी जुलुस देखि मोटसाईकल र्‍याली गरेर आन्दोलनका कार्यक्रमलाई घनिभुत बनाउँदै लगेको युवा अगुवा अनुप थापाले बताए। उनका अनुसार सरकारले कर्णालीलाई सम्बोधन नगर्दा सम्म आन्दोलन रोकिने छैन। अगुवाहरुले राजधानी काठमाडौंमा समेत आन्दोलन गर्ने बताएका छन्।

चौथो दिनमा भएको मोटरसाईकल रयाली नेपाल पत्रकार महासंघ शाखा कार्यालय जुम्लादेखि शुरु भएर बहुमुखी क्याम्पस,विमानस्थल,ट्राफिक कार्यालय, बसपार्क, विजयनगर हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि आएर कोण सभामा परिणत भएको थियो।

कोण सभालाई संवोधन गर्दै नागरिक समाज जुम्लाका सचिव सरोज शाहीले राजधानी कर्णाली हुनु पर्ने माग सहित थालिएको आन्दोलन दैनिक दिन तातिदै गएको बताए। उनले निरन्तर अधिकारको लडाई जारी राख्ने बताउँदै पहिचान, सामाथ्र्य र दुर्गमताको हिसावमा कर्णालीमै राजधानी हुनु पर्नेमा जोड दिए । उनले भने, 'कर्णाली अव कहिल्यै निरिह बन्न सक्दैन, मागेर अधिकार पाएन भने, खोसेर भएपनि माग संवोधनका लागि तयारी अवस्थामा रहन्छन।'

नागरिक समाज जुम्लाले राजधानी र कर्णाली दुवै ठाउँबाट आन्दोलनका कार्यक्रम एक साथ लग्ने भएको छ। त्यसको लागि नागरिक समाज जुम्लाका अध्यक्ष राजवहादुर शाही जुम्लाका प्रतिनिधी र नेताहरु राजधानी तर्फ समेत गएका छन्।

जुम्लामा पहिलो दिन विरोध प्रदर्शन, दोस्रो दिनमा राँके जुलुस, तेस्रो दिनमा सिठि जुलुस भएकोमा चौथो दिनमा मोटरसाईकल र्‍याली निकालिएको छ। मोटरसाईकल र्‍याली मार्फत कर्णालीको हक अधिकारको लागि एक जुट हुन कर्णालीवासीलाई आव्हान गरेको युवा अगुवा अनुप थापाले जानकारी दिए ।

 

प्रकाशित: २३ पुस २०७४ ११:४७ आइतबार

जुम्लामा राजधानी माग गर्दै काठमाडौंमा आन्दोलन गर्ने चेतावनी