राजनीति

भारतबाट बल्ल आइपुगे मुर्रा राँगा

भारतबाट ल्याइएका मुर्रा राँगा। तस्बिर सौजन्य: पशु सेवा विभाग

धेरै दुध दिने उन्नत जातको भैंसी तयार गर्न नेपालमा भारतबाट मुर्रा राँगा ल्याइएका छन्।  भैंसीमा कृत्रिम गर्भाधान गरी धेरै दुध दिने भैंसी तयार गर्न वीर्य उत्पादनका लागि मुर्रा राँगा ल्याइएका हुन्। भारतबाट सहयोगस्वरूप प्राप्त उच्च प्रजनन मानका मुर्रा राँगा नेपाल आइपुगेको पशु विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिए। ‘नेपालगन्जको जमुनाहा नाकाबाट १५ मुर्रा राँगा नेपाल भित्रिएका छन्,’ ढकालले भने, ‘यी राँगा पशु प्रजनन कार्यालयमा पालेर वीर्य उत्पादन गरिन्छ।’

यहाँका स्थानीय भैंसीको दुध औसत उत्पादकत्व प्रतिबेत करिब ९ सय लिटर छ। भारतमा विकास गरिएका उच्च क्षमताका मुर्राको औसत उत्पादन प्रतिबेत ३ हजार लिटर माथि छ। भारतमा मुर्रा भैंसीले नेपालको तुलनामा दुई गुणा बढी दुध दिने भएकाले वीर्य उत्पादनका लागि भारतबाट राँगा ल्याउनुपरेको हो।

मुर्रा जातको राँगाबाट कम्तीमा १ लाख भैंसीका लागि कृत्रिम गर्भाधान गराउने वीर्य उत्पादन गरी नश्ल सुधारमार्फत भैंसीको दुध उत्पादन बढाउने योजना छ। १५ राँगाबाट तीन वर्षपछि वार्षिक कम्तीमा १ लाख ५० हजार डोज वीर्य उत्पादन भई कम्तीमा १ लाख भैंसीमा कृत्रिम गर्भाधान गर्न सकिने विभागले जनाएको छ।

दुध उत्पादनको गुण भएका राँगाबाट उत्पादन गरिएको वीर्यबाट नेपाली भैंसीको औसत उत्पादनमा समेत गुणात्मक वृद्धि हुने भएकाले भारतबाट ल्याइएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताए।

‘नेपालमा रहेका भैंसीको उत्पादकत्वमा वृद्धि गर्न उच्च उत्पादन गुण भएका मुर्रा राँगा ल्याउन विगत लामो समयदेखि प्रयास गरिएको थियो,’ दाहालले भने, ‘अहिले सफलता मिलेको छ।’

उच्च प्रजनन मानका मुर्रा जातका राँगा नेपाल ल्याउन लामो प्रयास भए पनि गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भारत सरकारसँग औपचारिक सहमति भएको थियो। यद्यपि त्यसका लागि विगत सात वर्षदेखि प्रयास भइरहेको प्रधानमन्त्री दाहालले संसद्मा जानकारी गराएका थिए। भारत सरकारले नेपाललाई वस्तुगत सहायतास्वरूप उच्च प्रजनन मानका मुर्रा राँगाहरू उपलब्ध गराउने प्रतिबद्धताअनुसार ती राँगाहरू नेपाल ल्याइएका हुन्।

नेपालमा धेरै दुध दिने उन्नत जातका भैंसी तयार गर्न राँगा विदेशबाट ल्याउनुपरेको हो।  नेपालले भारत, चीन लगायत मुलुकबाट उन्नत जातका मुर्रा राँगा ल्याउन विगत लामो समयदेखि पटकपटक प्रयास गरिरहेको भए पनि अहिले सफलता मिलेको सरकारी अधिकारीले बताएका छन्।

सन् २०१८ मा नेपालमा भएको नेपाल–भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भारत सरकारसँग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगो नेपाल सरकारलाई उपलब्ध गराउन अनुरोध गरिएको थियो।

क्वारेन्टाइन प्रक्रिया पूरा गरी ल्याइएका राँगाहरू लहान, पोखरा र गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयहरूमा व्यवस्थापन गरी जमेको वीर्य उत्पादनमा प्रयोग गर्ने विभागले जनाएको छ। पशु प्रजनन कार्यालयबाट अहिले पनि वीर्य उत्पादन भइरहेको छ। भारतबाट प्राप्त हुने १५ वटा राँगा राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरामा ७, राष्ट्रिय पशु प्रजनन कार्यालय लहानमा ५ र राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्जमा तीनवटा राखिने विभागले जनाएको छ।

‘मुर्रा राँगाको जमेको वीर्यको माग पाँच वर्षमा दुई गुणा र १० वर्षमा करिब पाँच गुणा बढ्ने अनुमान छ,’ महानिर्देशक दाहालले भने, ‘मुर्रा राँगाको वीर्य उत्पादन वृद्धि गरी कृत्रिम गर्भाधानको क्षेत्र विस्तार गर्ने योजना छ।’

भारतीय सेन्ट्रल इन्स्टिच्युट फर बफेलोले विकास गरेको मुर्रा प्रजातिको भैंसीको जात विश्वमै उन्नतमध्येको मानिन्छ। भारतको हरियाणामा रैथाने प्रजातिलाई अनुवंशिक विकास गर्दै लामो अध्ययनबाट उन्नत बनाइएको यो जात वीर्य उत्पादन विकासका लागि राम्रो मानिन्छ।

नेपालमा लिमे, पारकोटे, गड्डी जातका स्थानीय भैंसी र मुर्रा शुद्ध नश्ल र मुर्रा क्रस ब्रिड प्रजातिका भैंसी छन्। मुर्रा क्रस ब्रिड भैंसीको औसत उत्पादकत्व करिब १५ सय लिटर रहेको छ। शुद्ध नश्लका मुर्रा भैंसीको औसत उत्पादकत्व प्रतिबेत करिब २३ लिटर रहेको छ। शुद्ध नश्लका मुर्रा भैंसीको औसत उत्पादकत्व प्रतिबेत करिब २३ लिटर रहेको छ।

वीर्य उत्पादन गरी कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैंसीको दुध उत्पादनमा उल्लेख्य वृद्धि हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। भैंसीको नश्ल सुधारमार्फत दुध तथा मासुको उत्पादन र उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको छ।

 नेपालको कृषि अर्थतन्त्रमा धान खेतीपछि भैंसी पालनको सबैभन्दा धेरै योगदान छ। देशको कुल दुध र मासु उत्पादनमा भैंसीको योगदान करिब क्रमशः ५७ र ३८ प्रतिशत छ। भैंसीपालन दुध उत्पादनको प्रमुख स्रोत हो। मासु उत्पादनको अतिरिक्त खेतबारी जोत्न, गोबर संकलन गर्न, गाडा तान्न मात्र नभएर छाला, हाड, खुर निकाल्नसमेत यसको प्रयोग हुने गरेको छ।

नेपालमा करिब २९ लाख भैंसी छन्। तीमध्ये उन्नत तथा वर्णशंकर भैंसी २६ प्रतिशत रहेको पशु सेवा विभागले जनाएको छ। मुलुकमा १४ लाख ६४ हजार मेट्रिक टन दुध भैंसीबाट र १ लाख ९४ हजार मेट्रिक टन मासु राँगा र पाडाबाट उत्पादन हुन्छ।

सरकारले यसअघि दक्षिण कोरियाबाट कोरली गाई ल्याएको थियो। गत वर्षको पुसमा कोरियाबाट विमान चार्टर गरेर कार्गोमार्फत कोरली गाई र साँढे ल्याइएको थियो।

नेपालका गाईको दुध उत्पादन क्षमता कम भएकाले उच्च परिमाणमा दुध दिने वंशाणुगत गुण भएका गाई र प्रजनन क्षमता राम्रो भएका साँढे ल्याइएको हो।  नेपालले यसअघि चीनबाट उन्नत जातका गाई ल्याउने योजना बनाए पनि सफल भएको थिएन।  

नेपाललाई दुधमा आत्मनिर्भर बनाउने सरकारी योजना छ। दुधको माग वार्षिक ८ प्रतिशत बढ्दै गएको छ। मानव स्वास्थ्यका लागि अत्यावश्यक चिल्लो पदार्थ, ल्याक्टोजिन, प्रोटिन, कार्बोहाइड्रेड, खनिज पदार्थ र भिटामिन दुधमा पाइने भएकाले यसको प्रयोग अनिवार्य मानिन्छ। सरकारले पशुपालन बढाएर दुध उत्पादन उकास्ने लक्ष्य लिएको छ। किसानले गाईभैंसी पालेर दुध उत्पादन गरेर ल्याएपछि लिटरका आधारमा सरकारले अनुदान दिँदै आएको छ।  

प्रकाशित: ७ मंसिर २०८० ०१:०८ बिहीबार

भारतबाट बल्ल आइपुगे मुर्रा राँगा पशु विभागका प्रवक्ता डा. चन्द्र ढकाल