राजनीति

कास्कीमा रवीन्द्रको ‘ह्याट्रिक’

पोखरा- युवा नेताको पहिचान कमाएका बाम गठबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारीले कास्की–२ मा जित हात पारेका छन्। एमालेबाट उम्मेवार बनेका अधिकारीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका हुन्।

अधिकारीले २७ हजार २ सय ७ मत पाएका छन् । चालिसेले १८ हजार ६ सय ६१ मत पाउँदा ८ हजार ५ सय ४६ मतको अन्तरमा अधिकारीले जित हात पारेका हुन् । अधिकारीले यो समेत लगातार तीनवटा निर्वाचनमा कास्कीमा जितेर ‘ह्याट्रिक’ पुरा गरेका छन् । अधिकारीले २०६४ र २०७४ का संविधानसभा निर्वाचनमा जित हात पारेका थिए।

यसअघि कास्की–३ बाट जितेका अधिकारी अहिले क्षेत्र खुम्चिँदा २ नम्बरबाट उम्मेदवार बनेका थिए । संविधानसभा निर्वाचित भएपछि उनी संसदको विकास समितिका सभापति समेत बनेका थिए । बाम गठबन्धनका कारण अधिकारी सुरुदेखि नै बलियो अवस्थामा थिए । 

अधिकारीसँग पराजित भएका चालिसे बौद्धिक उम्मेद्वारको पहिचान बनाएका व्यक्ति हुन । उनी पृथ्वीनारायण क्याम्पसको प्राध्यापक पनि थिए । ६ महिना अघि मात्र प्राध्यापन पेशाबाट राजीनामा दिएर चालिसे राजनीतिमा होमिएका थिए । युवा र बौद्धिक उम्मेदवार हुँदा अधिकारी र चालिसेको प्रतिश्पर्धालाई कास्कीमा निकै रोचकपूर्ण तरिकाले हेरिएको थियो ।

त्यसैगरि कास्की २ ‘क’ मा एमालेका कृष्ण थापा विजयी भएका छन् । बाम गठबन्धनका साझा उम्मेदवार रहेका थापा एमालेका जिल्ला अध्यक्ष पनि हुन् । थापाले १५ हजार ३ सय २९ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गुरु बरालले ८ हजार ३ सय २५ मत मात्र ल्याएका थिए । बराल ७ हजार ४ मतान्तरले पराजित भएका हुन् ।

आफ्नैको चुनौती तोड्दै कांग्रेसका थापा विजयी

आफ्नैको चुनौतीलाई चिर्दै कांग्रेसका बिन्दुकुमार थापा कास्की–२ (ख) मा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेदवार रहेका माओवादी केन्द्रमा राजकाजी गुरुङलाई ८ सय २ मत अन्तरले थापाले पराजित गरेका हुन् ।

थापाले १० हजार ७ सय २६ मत पाएका छन् । प्रतिद्वन्द्वी गुरुङले ९ हजार ९ सय २४ मत मात्र पाएका छन् । पराजित भएका गुरुङ माओवादी केन्द्रका कास्की इन्चार्ज पनि हुन् । गुरुङले यसअघि पहिलो संविधानसभा निर्वाचनमा कास्की–२ बाट जित हात पारेका थिए । दोश्रौ संविधानसभामा पर्वत–२ मा उम्मेदवार बनेका उनले पराजित भोगेका थिए।

विजयी भएका थापालाई कांग्रेसले उम्मेदवार बनाएपछि असन्तुष्ट हुँदै बागी उम्मेदवारी दिएका नरेशशंकर पालिखेले १२ सय ९२ मत पाएका छन् । विजयी भएका थापा पोखराका ब्यापारी पनि हुन् । उनी पोखरा उद्योग बाणिज्य संघको निवर्तमान अध्यक्ष पनि हुन्। पोखरामा घरजग्गा र अटोमा उनको ब्यापार छ । त्यसबाहेक बैंकिङ क्षेत्रमा पनि उनको लगानी छ ।

 

प्रकाशित: २३ मंसिर २०७४ १२:०६ शनिबार

कास्कीमा रवीन्द्रको ह्याट्रिक