राजनीति

प्रतिस्पर्धामा पुरानै अनुहार

बर्दिया – चुनावको प्रतिस्पर्धामा उत्रिएका ‘हस्ती’ नेताका कारण बर्दिया पनि चुनावमय भएको छ । मैदानमा पुरानै अनुहार भएकाले मतदातालाई नयाँपनको महसुस भएको छैन। 

पहिलो संविधानसभादेखि अहिलेसम्म वाम गठबन्धका उम्मेदवार र कांग्रेसका उम्मेदवार पुरानै छन् । दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेश सभा रहेको जिल्लामा २०६४,२०७० संविधानका सभामा एमालेका उपाध्यक्ष वामदेव गौतम, सञ्जय गौतम, सन्तकुमार थारू र गोपाल दहित उम्मेदवार थिए। 

तर, फरक के छ भने पहिला कोही कांग्रेस, एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिक उम्मेदवार थिए भने अहिले वाम गठबन्धन र कांग्रेसबाट उम्मेदवार बनेका छन्। 

वाम गठबन्धनबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा उम्मेदवार बनेका एमालेका उपाध्यक्ष गौतम पहिलो संविधानसभामा पराजय भएका थिए भने दोस्रो संविधानसभामा विजयी भएका थिए। 

उपाध्यक्ष गौतम २०४८ सालदेखि नै चुनावी मैदानमा छन् । निर्वाचन क्षेत्र नं. १ का नेपाली कांगे्रसका उम्मेदवार गौतम पनि पहिलो संविधानसभाको चुनाव हारेर दोस्रो संविधानसभा जित्ने नेता हुन् । उनी पनि तेस्रोपटक चुनाव मैदानमा छन्। 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का वाम गठबन्धनका थारू भने दुईपटक चुनाव जितेर तेस्रोपटक चुनावी मैदानमा उत्रिएका हुन् । दहित पनि पराजय भोगेर पनि तेस्रोपटक कांग्रेसबाट उम्मेदवार बनेका हुन्।

एमाले उपाध्यक्ष गौतम पूर्वमन्त्री हुन् भने तीन जना प्रतिस्पर्धी बहालवाला मन्त्री हुन् । जिल्लामा २ प्रतिनिधिसभा र ४ प्रदेश सभामा वामग ठबन्धन र कांग्रेसबीच नै मुख्य प्रतिस्पर्धा छ । कांग्रेसले यहाँका स्थानीय तहमा वाम गठबन्धनलाई टक्कर दिन कडा मिहिनेत गरिरहेको छ । स्थानीय तह र संविधानसभाको चुनावी गणित कमजोर देखिएको कांग्रेसले यसपटकको निर्वाचनमा आफ्नो पक्षमा जबर्जस्त माहोल बनाउन भरपूर प्रयास गरिरहेको छ।

वाम गठबन्धन र कांग्रेस प्रमुख प्रतिस्पर्धी रहेको प्रतिनिधिसभा र प्रदेशसभाका लागि आफ्ना उम्मेदवार जिताउन घरदैलो अभियानमा संलग्न हुनुका साथै चुनावी सभालाई सम्बोधन गरिरहेका छन् । ०४८ देखि ०७० सम्म भएका संसदीय, संविधानसभा सदस्य र स्थानीय चुनावमा कांग्रेस र एमालेले बराबरी जित हात पारेका छन् । कडा टक्करमा कहिले एमालेले बढी सिट त, कहिले कांग्रेसले, कहिले माओवादी केन्द्रले ल्याएका छन् । पछिल्लो संविधानसभा चुनावमा भने माओवादी केन्द्रले चुनावी नतिजा आफ्नो पोल्टामा पारेको थियो। 

०४८ र ०५१ मा साबिकका चारवटै निर्वाचनमा एमालेले जितेको थियो । ०५६ मा सवै सिट कांगे्रसले जित्यो । यसैगरी ०६४ मा माओवादी केन्द्रले सबै सिट पोल्टामा पारेको थियो । ०७० मा दुई माओवादी र कांगेस र एमालले एकएक सिट जितेका थिए ।

तर, अहिले वाम गठबन्धन र कांगे्रसमा  तिक्तता  छ । वाम गठबन्धन उम्मेदवार उठाएको प्रतिनिधिसभा क्षेत्र नं. २ मा र प्रदेशसभा टिकट वितरणमा कांग्रेसमा समस्या रहेको कार्यकर्ता बताउँछन् । पटकपटक चुनाव जितेका थारूलाई पार्टी चलाउने जिम्मेवारी दिने चर्चा थियो । तर, पछिल्लो समय थारुलाई पुनः वाम गठबन्धनले उम्मेदवार बनाएको छ । पहिलो नम्बरमा सिफारिसमा परेका तिलक शर्मा उम्मेदवार बन्ने विश्वास कार्यकर्तामा थियो । दोस्रो नम्बर सिफारिसमा परेका सुरेश पन्त र शर्माबीच विवादपछि थारु उम्मेदवार बनेका कारण पन्त पक्षधर असन्तुष्ट भएको स्रोतको दाबी छ । 

कांग्रेसले प्रदेश सभा २ (क) र (ख) कार्यकर्तामाझ लोकप्रिय रहेका विद्या खनाल, जन्मजय तिमिल्सेना र अरुणप्रतापसिंह राठोरमध्येलाई उम्मेदवार बनाउनुपर्ने प्रस्ताव कार्यकर्तामा थियो । तर, तीनै जनालाई कांग्रेसले उम्मेदवार बनाएन । कांग्रेसले  कारण २ (क) र (ख) क्रमशः रामचन्द्र थापा र नाचुराम थारुलाई उम्मेदवार बनाएको छ । 

प्रकाशित: १३ मंसिर २०७४ ०३:१४ बुधबार

प्रतिस्पर्धामा पुरानै अनुहार