राजनीति

आरजु र नारदमुनीको यस्तो छ चुनावी अंकगणित

धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणा नेपाली कांग्रेसबाट चुनावी मैदानमा छन्। पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्न लागेकी आरजुले दोश्रो संविधान सभामा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन लडेको यो क्षेत्र रोजेकी हुन्।

वाम गठबन्धनका तर्फबाट  एमालेका बैकल्पिक केन्द्रिय सदस्य युवा नेता नारदमुनी राना उनीसँग भिड्दै छन्। कांग्रेसको पकड रहेको क्षेत्र मानिए पनि वाम गठबन्धन हुनु र राना जनस्तरमा घुलमिल भएका उम्मेदवार भएकाले याहाँ कडा र रोचक प्रतिस्पर्धा हुने देखिन्छ। चुनाव जित्न सहज नभएकाले मनोनयन दर्ता सँगै आरजुले भेटघाट, प्रचार प्रसार लगायतका व्यस्तता मात्र बढाएकी छैनन् मतदाताको मन जित्न उनले भरपुर प्रयास गरेकी छन्। केही दिन अघि उनले गदरियामा थारु समुदायका महिलाले विवाह, गाउँमा ठूला पाहुनाको स्वागत गर्ने बेला बोक्ने ढकिया टाउकोमा राखेको तस्बिर खिचाएर थारु मतदाताको मन जित्ने प्रयत्न गरिन्। बिपक्षीहरुले पर्यटक उम्मेदवार भनेर आरोप लगाएपछि उनले धनगढी ४ उत्तरवेहेडीमा शारदा हमालको नाममा रहेको सुविधासम्पन्न घर ३ करोडमा किन्ने निधो गरी त्यही घरमा बस्न थालेकी छन्। कांग्रेसको पकड भएको क्षेत्र हुनु, बहालवाला प्रधानमन्त्रीकी पत्नी भएकाले प्रभाव, प्रभावशाली व्यक्तित्व हुनु आरजुका जित्ने आधार भएको उनका समर्थक बताउँछन्।

वाम गठबन्धन हुनु, यहाँको समाजमा घुलमिल भएको छवी हुनु, पछाडी पारिएको रानाथारु समुदायको समान्य परिवारमा जन्मेको युवा हुनुजस्ता आधार रानाले चुनाव जित्ने भएको उनको समर्थक बताउँछन्। रानाले पनि भेटघाट, प्रचार प्रसार तिव्र् पारेका छन्। २०७० सालमा प्रधानमन्त्री शेरबहादुर देउवाले भनेका ऐजेण्डा पुरा नगरेकाले जनताले आफुलाई मत दिने रानाले भनाई छ। ‘पछाडि पारिएका राना थारु सुचिकृत हुनुपर्छ भनेर उठाएको एजेण्डा देउवाले पुरा गरेनन्, त्यो मेरो मुख्य एजेण्डा हो’रानाले भने,‘जितेपछि फर्केर नआउनेलाई नभई दृ:ख सुखमा समुदायका साथ हुने मलाई मतदाताले जिताउँछन्’ उनले बिमानस्थल स्तरन्नोती, गौरिफन्टा नाका खोल्ने, रंगशाला निर्माण, औद्योगिक क्षेत्र र पछाडी पारिएकाको जीवन स्तर उकास्ने लगायतका विकासका ऐजेण्डा अघि सारेका छन्।

कांग्रेसको पकड रहेको क्षेत्र मानिए पनि वाम गठबन्धन हुनु र राना जनस्तरमा घुलमिल भएका उम्मेदवार भएकाले याहाँ कडा र रोचक प्रतिस्पर्धा हुने देखिन्छ।

नेपाली कांग्रेसकी आरजु देउवाले लोकतन्त्र मजबुत बनाउन, विकास र स्मृद्धीका लागी मतदाताले आफुलाई जिताउने बताइन्। कैलाली क्षेत्र नम्बर ५ लगायत प्रदेश नम्बर ७ को समृद्धिका लागी काम गर्ने उनको भनाई छ। उनले पनि बिमानस्थल स्तरन्नोती, गौरिफन्टा नाका, औद्योगिक क्षेत्र, सडक लगायतका विकासका मुद्दा अघि सारेकी छन्। यस अघिका चुनावका बेला एजेण्डा लैजाने पछि फर्केर नआउने भएकाले उम्मेदवारका ऐजेण्डाले धेरै अर्थ नराख्ने स्थानीयको भनाई छ।

यस अघि क्षेत्र नम्बर ६ रहेको धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिका ६ र ८ दुई वडा मिलाएर क्षेत्र नम्बर ५ बनाइएको छ। गत स्थानीय तहमा धनगढी उपमहानगरपालिकाका १९ वडा मध्ये १२ नेपाली कांग्रेस, ५ माओवादी र २ एमालेले जितेको थियो। भने कैलारी गाउँका ६ मा कांग्रेस र ८ मा माओवादीले जितेको थियो । वडा अध्यक्षले पाएको मत हेर्दा लोकतान्त्रिक गठबन्धन भन्दा वाम गठबन्धनको मत १ हजार ९ सय ९७ ले बढी छ।

धनगढी उपमहानगरपालिकाका १९ र कैलारी गाउँपालीकाका २ वडा गरी २१ वडामा अध्यक्षले पाएको मत हेर्दा नेपाली कांग्रेस, राप्रपा, नयाँशक्ती र तत्कालिन लोकतान्त्रिक फोरम( लोकतान्त्रिक गठबन्धन) ले पाएको मत २३ हजार ४ सय ५६ रहेको छ भने एमाले र माओवादी केन्द्र(वाम गठबन्धन )ले पाएको मत २५ हजार ४ सय ५३ रहेको छ । २१ वडा अध्यक्षले पाएको मतका आधारमा नेपाली काग्रेसले १७ हजार ५ सय २०, राप्रपाले ३ हजार ५ सय ६८, लोकतान्त्रिक फोरमले १ हजार ७ सय ३, नयाँ शक्ती ६ सय ६५ मत पाएका छन। यसैगरी एमालेले १४ हजार १ सय ४ र माओवादी केन्द्रले ११ हजार ३ सय ४९ मत पाएको छ।

वाम गठन्बन्धनका राना २०५४ सालमा धनगढी नगरपालिकामा उपमेयरमा चुनाव जितेका थिए। २०६४ सालमा समानुपातिक कोटावाट सासंद बनेका थिए। उनी खेलकुद गतिबिधीमा पनि संलग्न र धनगढीको शिवनगरमा सयौ परिवारलाई शुद्ध खानेपानी उपलब्ध गराउने शिवनगर खानेपानी आयोजनका पूर्व अध्यक्ष हुन। धनगढी उपमहानगरपालिकाको क्षेत्र रहेको यो निर्वाचन क्षेत्रवाट गत संविधान सभामा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले चुनाव जितेका हुन। डडेल्धुरा र कैलाली क्षेत्र नम्बर ६ वाट चुनाव लडेका देउवाले यो क्षेत्र छोडेपछि उपनिर्वाचनमा नेपाली काग्रेसका पुष्करनाथ ओझाले चुनाव जितेका हुन्। गत स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसका नृप ओडले चुनाव जितेका थिए। प्रधामन्त्री देउवाले चुनाव जितेयता कांग्रेसले जित हात पारेकाले यो क्षेत्र कांग्रेसको पकड भएको मानिन थालेको हो। त्यस अघि धनगढी क्षेत्रमा मतदाता चलायमान देखिने गरेका थिए । धनगढी रहेको यो क्षेत्र( तत्कालिन निर्वाचन क्षेत्र ३ ) मा २०४८ मा नेपाली कांग्रेसका स्व.टेकबहादुर चोख्यालले चुनाव जितेका थिए । २०५१ धनगढी रहेको तत्कालिन निर्वाचन क्षेत्र ४ मा एमालेका महेश्वर पाठकले जितेका थिए । २०५६ मा कांग्रेसका स्व.टेकबहादुर चोख्यालले चुनाव जितेका थिए । क्षेत्र नम्बर ६ मा २०६४ सालको संविधान सभामा माओवादीका लिला भण्डारीले चुनाव जितेकी हुन।

कैलाली क्षेत्र नम्बर ५ मा भेगिय र जातिय रुपमा पनि मत प्रभावित हुने गरेका छन्। डोटीका ब्राह्मण समुदाय, चौधरी समुदाय याहाँको निर्णाय मत मानिने गरेको स्थानीय बताउँछन। आरजु बलियो बनाउन यहि समिकरण मिल्ने गरी प्रदेशमा जीवन राना र डिल्ली पन्तलाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको छ। वाम गठबन्धन वाट प्रदेशमा एमालेका नेपालु चौधरी र माओवादीका रमेश धामी उम्मेदवार रहेका छन्।

कैलाली क्षेत्र नम्बर ५ का करिव ३० हजार राना थारु समुदायका मतदाता छन। यो क्षेत्रमा ९२ हजार मतदाता रहेका छन्।

रानाथारु समुदायका मत कसरी जान्छन् यसले नतिजा कस्को पोल्टामा जाने भन्ने निक्र्यौल हुने बिश्लेषण गरिएको छ। जातिय सेन्टिमेन्टका आधारमा नारदमुनी रानाले यी मत प्रभाव पार्न सके उनी बलियो हुने बिश्लेश्ण गरिएको छ।‘ खेलकुद क्षेत्र, अन्य समुदायमा पनि प्रभाव भएका नारदमुनीले रानाको मत पाउन सके उनको जित निश्चित हुन्छ’स्थानीय व्यवसायी देवबहादुर बमले भने।

अत्यन्त गरिवी र पछौटे पन, मुक्त कमैया शिविरमा रहेका थारु, राना, सकुम्वासी लगायतमा आर्थिक प्रभाव पर्ने, नेपाली कांग्रेसबाट प्रदेशमा राना उम्मेदवार हुनु लगायतका कारण  राना थारुका मत सवै रानाले पाउन सहज हुन नसक्ने बिश्लेषण पनि गरिएको छ। ‘रानाको मत पनि आरजुलाई आउँछ,  काग्रेसको प्रभाव क्षेत्र, आरजुको व्याक्तित्व लगायतका कारण आरजुले चुनाव जित्ने पक्का छ’स्थानीय शिक्षक तिर्थराज पाण्डेय बताउँछन। नतिजाको जस्को पोल्टामा गएपनि आरजु र रानाबीच कडा र रोचक प्रतिस्पर्धा हुने स्पष्ट देखिन्छ।

 

प्रकाशित: २४ कार्तिक २०७४ ११:५३ शुक्रबार

आरजु नारदमुनीको यस्तो चुनावी अंकगणित