राजनीति

एमाले उपाध्यक्ष गौतमसहित तीन बहालवाला मन्त्री भिड्दै

बर्दिया – बर्दियाको दुई प्रतिनिधिसभाका लागि बहालवाला तीन मन्त्री र एमाले उपाध्यक्ष वामदेव गौतमले मनोनयन दर्ता गराएका छन् । दुई प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा तीन बहालवाला मन्त्री हुन् भने उपाध्यक्ष गौतम पटकपटक मन्त्री बनिसकेका छन्। 

आगामी निर्वाचनमा प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट बिनाविभागीय मन्त्री सन्तकुमार थारू र फोरम लोकतान्त्रिकका भूमिसुधारमन्त्री गोपाल दहितबीच प्रतिस्पर्धा हुँदैछ भने नेपाली कांग्रेसका सिँचाइमन्त्री सञ्जय गौतम र एमालेका उपाध्यक्ष गौतम भिड्दैछन्। 

गौतमद्वय प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंं १ को चुनावी प्रतिपस्र्धामा उत्रिएका छन् । क्षेत्र नं २ मा भूमिसुधारमन्त्री दहित र बिनाविभागीय मन्त्री थारू लडेका छन्।   

स्थानीय तह निर्वाचन परिणामलाई आधार मान्ने हो भने वाम गठबन्धन कांग्रेसभन्दा बलियो छ । जिल्लाका आठ स्थानीय तहमध्ये गुलरिया नगरपालिका र गेरुवा गाउँपालिकामा मात्र प्रमुुख र उपप्रमुख पदमा कांग्रेस विजयी भएको थियो । तीन स्थानीय तहमा एमाले  र तीन स्थानीय तह माओवादी केन्द्र विजयी भएको थियो । यसपटकको चुनावमा एमाले र माओवादी दुवैको मत बाँडिएन भने वाम गठबन्धनले जित्ने प्रबल सम्भावना देखिएको आँकलन छ।

स्थानीय चुनावभन्दा अगाडि हेर्ने हो भने बर्दियामा कांग्रेस कमजोर देखिँदैन । क्षेत्र नं. १ बाट ०४८ देखि ०७० चुनावमा उठेका एमाले उपाध्यक्ष गौतम दुईपटक पराजित भइसकेका छन् । उपाध्यक्ष गौतममाथि कामभन्दा बढी आश्वासन बाँड्ने गरेको स्थानीय आरोप छ। 

दोस्रो संविधानसभामा बर्दिया र प्युठानबाट चुनाव जितेका गौतमले प्युठान रोजे। 
उपाध्यक्ष गौतम छैटौं पटक चुनाव लडदैछन् भने मन्त्री गौतम तेस्रो पटक उम्मेदवार बनेका छन् । पहिलो संविधानसभामा हारेका मन्त्री गौतमले दोस्रो संविधानसभा निर्वाचनमा  विजयी भएका थिए । यसअघिका निर्वाचनमा आन्तरिक कलह र टिकट वितरण प्रक्रिया नमिल्दा हार्नुपरेको कांग्रेस भनाइ छ। 

‘उम्मेदारका हिसाबले निर्वाचन क्षेत्र नं १ कांग्रेसले जित्ने सम्भावना प्रबल छ’, जिल्लाका कांग्रेस निकट एक कार्यकर्ताले भने, ‘उपाध्यक्ष गौतम वाम गठबन्धन बलियो भएको ठाउँबाट चुनाव लड्दैछन् भने यसअघि बर्दिया छाडेकाले मतदातामा नराम्रो छाप पनि परेको छ ।’ मन्त्री गौतम रैथाने हुन्। 

प्रतिनिधिसभामा निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका मन्त्री थारू माओवादीका पूर्व लडाकु हुन् । उनले सोही क्षेत्रबाट दुई पटक चुनाव जितिसकेका छन्। बर्दियामा २ लाख ७२ हजार ४ सय ७७ मतदाता छन् । 

प्रकाशित: २० कार्तिक २०७४ ०२:५६ सोमबार

एमाले उपाध्यक्ष गौतमसहित बहालवाला मन्त्री भिड्दै