राजनीति

मन्त्री आचार्यद्वारा बाल सुधारगृह अनुगमन

आँबुखैरेनीको ढकालटारमा निर्माणाधीन बालसुधार गृहको अनुगमनका लागि मन्त्री सुरेन्द्रराज आचार्य तनहुँमा ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले तनहुँको आँबुखैरेनी गाउँपालिका(२ ढकालटारमा निर्माण भएको बाल सुधारगृहको आज अनुगमन गरेका छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोगमा ढकालटारमा निर्माण सम्पन्न प्रदेशस्तरीय बाल सुधारगृह निकट भविष्यमै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीमार्फत भवन निर्माण गरिएको हो।

भवन निर्माणको जिम्मा रु दुई करोड ७० लाख २३ हजार तीन सय २५ मा काठमाडौँस्थित फुल्जोर निर्माण कम्पनीले पाएको थियो।  मन्त्री आचार्यले आजै आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिसँग पनि अन्तरक्रिया गरेका छन। सो अवसरमा उक्त भवन छिट्टै सञ्चालनमा ल्याउने सहमति भएको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। 

सरकारले आर्थिक वर्ष २०७८र७९ को बजेटमा ढकालटारमा बाल सुधारगृह निर्माणका लागि बजेट बिनियोजन गरेको थियो। नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा बालगृह निर्माण गरिएको हो। ढकालटारमा विद्युत् प्राधिकरणको स्वामित्वको रहेको ५४ रोपनीमध्ये २८ रोपनी जग्गा बाल सुधारगृह सञ्चालनका लागि प्रयोग गरिनेछ।

प्रकाशित: २५ आश्विन २०८० १५:३९ बिहीबार

मन्त्री आचार्यद्वारा बाल सुधारगृह अनुगमन