राजनीति

एमालेमा नवप्रवेशीलाई मौका

काठमाडौं – एमालेले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत विगतमा अवसर प्राप्त गरेका नेतालाई पनि दोहो¥याएको छ । उसले सूचीमा नवप्रवेशीहरूलाई पनि राम्रैसँग समेटेको छ। 

निर्वाचन आयोगले मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिक बन्दसूची शुक्रबार अबेर सार्वजनिक गरेको छ । सो सूचीअनुसार एमालेले पहिलो संविधानसभामा समानुपातिक कोटाबाट सभासद भएका छ जनालाई दोहो¥याएको छ । दोहोरिनेमा थममाया थापा, राधा ज्ञवाली, विन्दा पाण्डे, रामप्रित पासवान, शान्ता चौधरी र शान्तिमाया तामाङ पाख्रिन छन् । जसमध्ये थापा जनजाति महिलाबाट पहिलो नम्बर तथा ज्ञवाली र पाण्डे खसआर्य महिलाबाट क्रमशः पहिलो र दोस्रो नम्बरमा छन् । चौधरी थारु महिला सूचीमा पहिलो नम्बरमा छिन्। 

‘आरक्षणको व्यवस्था एकपटक मात्रै हुनुपर्छ भन्दै पार्टीभित्र वकालत गर्ने नेताहरू पनि हुनुहुन्छ,’ एमालेका एक नेताले भने, ‘तर यसपटक पनि दोहो¥याउने काम भयो ।’ एमाले उपाध्यक्ष युवराज ज्ञवालीले लगातार नदोहोर्‍याउने मापदण्डमात्रै पार्टीले बनाएको बताए । ‘दोस्रो संविधानसभामा समानुपातिकबाट सभासद बन्नुभएका कोही पनि नेता अहिले हुनुहुन्न,’ उनले भने, ‘त्यसअघिका केही दोहोरिनुभएको छ ।’

मधेशी पुरुषको पहिलो नम्बरमा दुगड
एमालेको समानुपातिक सूचीमा नवप्रवेशीहरू पनि धेरै छन् । सूचीमा मधेसी क्लस्टरको पहिलो नम्बरमा परेका उद्योगपति मोतिलाल दुगड छन् । उनी २०६४ सालमा सद्भावना पार्टी आनन्दीदेवीबाट संविधानसभा सदस्य  बनेका थिए । त्यसपछि आफ्नै राजनीतिक दल खोलेका उनी केही महिनाअघि दलसहित एमाले प्रवेश गरेका हुन् । 
मधेसी सूचीमा दोस्रो नम्बरमा रहेका गंगाप्रसाद यादव चुनावी प्रक्रिया सुरु भएपछि राप्रपाबाट एमालेमा प्रवेश गरेका हुन् । राप्रपाबाट समानुुपातिक सभासद बनेका उनी यसअघिको संविधानसभा÷संसद्का उपाध्यक्ष÷उपसभामुख थिए । मधेस समता पार्टीसहित एमाले पसेका मेघराज नेपाली ‘निषाद’ मधेसीकोटामा तेस्रो नम्बरमा छन् । उनीपछि एमाले केन्द्रीय सदस्य दिनेश यादवको नाम छ । यादव यसअघि प्रत्यक्ष निर्वाचित सांसद थिए। 

२०६४ र २०७० सालमा समानुपातिकतर्फ सभासद बनेका परिवार दलका अध्यक्ष एकनाथ ढकाल पनि एमालेको खसआर्यतर्फको सूचीमा छन् । त्यसैगरी चुरे भावरका बद्री न्यौपाने पनि खसआर्यको सूचीमा छन् । ढकाल र न्यौपाने केही समयअघि दलबलसहित एमालेमा पसेका हुन्। 

कार्यकर्ताको लागि नौलो नाम 
आदिवासी जनजाति पुरुषतर्फ सूचीको चौथो र पाँचौं नम्बरमा रहेका आइन्द्रसुन्दर नेम्बाङ र चुडादेवसिंह लामा घिसिङ पनि  एमालेका नवप्रवेशी नेता हुन् । नेम्बाङ दोस्रो संविधानसभामा नेकपा मालेबाट समानुपातिक सभासद थिए । रामेछापका उनी काठमाडौंमै व्यापार व्यवसाय गर्छन् । नेपाल प्रहरीका पूर्वडिएसपी समेत रहेका उनी रामेछाप एमाले नेताकार्यकर्ताका लागि पनि नौलो नाम हो। 
‘रामेछापका भनेपछि खोजबिन गर्‍यौं । शनिबार मात्रै उहाँको घर गुम्दी रहेको पत्ता लाग्यो,’ रामेछापका एमाले एक नेताले भने, ‘पार्टी एकता प्रक्रियाबाट आएकाले समानुपातिक सूचीमा राखिएको केन्द्रीय नेताहरूबाट जानकारी आएको छ ।’ 
त्यसैगरी थारु महिला सूचीमा रहेकी गंगा चौधरी सत्गौवा थारुहट पार्टीबाट नयाँ शक्ति हुँदै एमालेमा आएकी हुन्। 

पहिला प्रत्यक्ष, अहिले समानुपातिकमा 
पहिला प्रत्यक्ष चुनाव जितेका एमाले नेताहरूमा कास्कीकी सीता गिरी ओली, बझाङका लालबहादुर रावल र मुगुका मोहन बानियाँ अहिले समानुपातिक सूचीमा छन्। 

आदिवासी जनजाति सूचीमा पोलिटब्युरो सदस्य विजय सुब्बाको नाम पहिलो नम्बरमा छ । पहिलो संविधानसभा विघटनसँगै एमाले छाडेका उनी केपी ओली ओली अध्यक्ष भएपछि मूलघरमै फर्किएका हुन् । उनी २०५६ सालमा तेह्रथुमबाट प्रतिनिधिसिभा सदस्यमा निर्वाचित भएका थिए । जनजातितर्फ दोस्रो नम्बरमा रहेका खगेन्द्र राई केन्द्रीय सदस्य हुन् । जनजाति महिलातर्फ दोस्रो नम्बरमा डा. शिवमाया तुम्बाहाम्फे, तेस्रामो सुजिता शाक्य, चौथोमा रामकुमारी झाँक्री र पाँचौंमा वीना श्रेष्ठको नाम छ । तुम्बाहाम्फे ओली प्रधानमन्त्री हुँदा इजरायलका लागि राजदूतमा सिफारिस भए पनि सरकार परिवर्तन भएर उनले नियुक्ति पाउन सकिनन् । शाक्य एमाले केन्द्रीय सदस्य हुन् । उनका पति स्थायी कमिटी सदस्य शंकर पोखरेल दाङबाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । केन्द्रीय सदस्य झाँक्री एमाले अखिलको पहिलो महिला अध्यक्ष पनि हुन्।  

खस आर्य पुरुषतर्फ सूचीको शीर्ष पाँच स्थानमा स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पार्टी निर्वाचन आयोग प्रमुख सोमनाथ प्यासी, लेखा आयोग अध्यक्ष पुष्प कँडेल, पूर्वकेन्द्रीय सदस्य देवराज घिमिरे र पूर्वमन्त्री एकनाथ ढकालको नाम छ । न्यौपाने, प्यासी, कँडेल, घिमिरे ओली निकट मानिन्छन्।  

खस आर्य महिलाको तेस्रो, चौथो, पाँचौ नम्बरमा गोमा देवकोटा, कल्याणीकुमारी खड्का र निरु पाल छन् । तीनैजना केन्द्रीय सदस्य हुन् । सो सूचीमा जीवराज आश्रितकी पत्नी माया ज्ञवाली सातौं नम्बरमा छिन् ।  गैरसरकारी संस्थामा सक्रिय रहँदै आएकी शर्मिला कार्की पनि समानुपातिक सूचीमा छिन्।

प्रकाशित: १९ कार्तिक २०७४ ०२:१५ आइतबार

एमालेमा नवप्रवेशीलाई मौका