राजनीति

जिरा ३ सयबाट १२ सय, चामल १६ सयबाट २५ सय, नियन्त्रण गर्नुपर्छ की पर्दैन: सांसद श्रेष्ठ

सांसद लीलानाथ श्रेष्ठले चाडबाडको मुखमा चरम महँगी बढिरहेको उल्लेख गर्दै सरकार महँगी नियन्त्रणमा जिम्मेवार नभएको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘जिरा ३ सयबाट बढेर १२ सय रुपैयाँ पुगेको छ, चार सय प्रतिशत बढको छ । चिनी ८० बाट बढेर १३०, दाल १४० बाट बढेर २५० र चामल १६ सयबाट बढेर २५ सय रुपैयाँ पुगेको छ। यी केही उदाहरण मात्र हुन। सरकारले यसलाई नियन्त्रण गर्नुपर्छ की पर्दैन ? के सरकार भनेको झन्डा हल्लाउने मात्र हो ?’

उनले देश चरम महँगीबाट गुज्रिरहँदा देशमा सरकार नै छ की छैन भन्ने अवस्था आएको बताए।  ‘त्यसकारण सरकारलाई गम्भीर ध्यानाकर्षण गराउँदछु। यस्तो गर्ने छुट सरकारलाई छैन’, सांसद श्रेष्ठले भने।

उनले अर्थतन्त्र चौपट अवस्थामा पुगिरहेको र सरकारी कर्मचारीलाई ऋण लिएर तलब खुवाइएको उल्लेख गर्दै सरकार कुनै पनि मुद्दामा गम्भीर नभएको आरोप लगाए।

‘कर्मचारी नभएर स्थानीय तहको बजेट फ्रिज भएको छ। स्थानीय तह तीन महिनादेखि खाली छ। आज एउटा कर्मचारी पठाउँछ हाजिर हुँदैन, भोली अर्को पठाउँछ हाजिर हुँदैन। यो के अवस्था होरु’,सांसद श्रेष्ठले प्रश्न गरे ।

प्रकाशित: १८ आश्विन २०८० १०:४६ बिहीबार

सांसद लीलानाथ श्रेष्ठ