राजनीति

गृहमन्त्री शर्मा पश्चिम रुकुमबाट माओवादी उम्मेदवार

गृहमन्त्री जनार्दन शर्मा

गणेश बिक

रुकुम–नेकपा माओवादी केन्द्रले प्रदेश नं. ६ मा पर्ने पश्चिम रुकुममा प्रतिनिधिसभा र प्रदेशसभाको लागि उम्मेदवारहरु टुंगो लगाएको छ । सदरमुकाम मुसीकोट खलंगामा मंगलबार बसेको वैठकले उम्मेदवारहरुको टुंगो लगाएको हो।

बैठकले प्रतिनिधिसभाको प्रत्यक्षमा गृहमन्त्री जनार्दन शर्मालाई सर्वसम्मतरुपमा उम्मेदवार बनाउने सिफारिस गरेको छ। यसैगरी प्रतिनिधिसभाको लागि समानुपातिक तर्फ निमबहादुर वुढाथोकी, मिलन खड्का, पहलसिं घर्ती, दिपेन्द्र बि.क., लक्ष्मी शर्मा र लुम्बीनी गौतमलाई सिफारिस गरिएको छ।

प्रदेश सभाका लागि क्षेत्र नं. २ बाट जिल्ला संयोजक गोपाल शर्मालाई सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ । त्यस्तै गरि क्षेत्र नं. १ मा भने आठ जनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नंं. १ को उम्मेदवारको लागि विमला के.सी., रातो कामी, अनिल शर्मा, महेन्द्र केसी, बसन्त शर्मा, कलबहादुर नाथ महान, बुद्धिप्रसाद शर्मा र जयबहादुर पाण्डेलाई सिफारिस गरिएको वताइएको छ । क्षेत्र नं. १ मा उम्मेदवारका आकांक्षीहरु धेरै भएकोले आठ जनाको नाम सिफारिस गरिएको बताइएको छ।

बैठकले प्रदेशसभाको लागि समानुपातिक तर्फ पुष्प वादी, लक्ष्मी पुन, मिनवहादुर ओली, गणेशकुमार केसी, मनवहादुर वादी र प्रतिभा केसीलाई सिफारिस गर्ने निर्णय गरेको वैठक पछि दिपेन्द्र विकले जानकारी दिए । क्षेत्र नं. १ मा जिल्लाले निर्णय गर्न सकेन उनले भने, जिल्लाले सिफारिस गरेपछि केन्द्रले टुंगो लगाउँछ।

उम्मेदवारको टुंगो लागे संगै माओवादीले नेता तथा कार्यकर्ताहरु चुनावी प्रचार प्रसारमा लाग्न सबैलाई निर्देशनात्मक अनुरोध गरेको छ ।

प्रकाशित: १० आश्विन २०७४ १३:५१ मंगलबार

गृहमन्त्री शर्मा पश्चिम रुकुमबाट माओवादी उम्मेदवार