राजनीति

बुबाको सपना पूरा गर्छु: सुवास नेम्बाङ पुत्र सुहाङ

सुवास नेम्बाङको श्रद्धाञ्जली सभामा बोल्दै उनका कान्छा छोरा सुहाङ। तस्बिर: भीम/नागरिक

नेकपा (एमाले) संविधानसभा अध्यक्ष तथा पूर्व सभामुख दिवंगत सुवासचन्द्र नेम्बाङका कान्छा छोरा सुहाङ नेम्बाङले बुबाको सपना पूरा गर्ने बताएका छन्। कानुन व्यवसायीसमेत रहेका उनले यसका लागि आफू सबैसँग हातेमालो गर्न तयार रहेको पनि बताए।

दिवंगत नेम्बाङको स्मृतिमा गृह जिल्ला इलाममा आयोजित श्रद्धाञ्जली सभामा सुहाङले समृद्ध नेपाल निर्माण नै बुबा सुवासको सपना भएको बताए।

‘संविधानबाट सञ्चालित विधिको शासनको परिकल्पना भएको र मानवअधिकार, सामाजिक सुनिश्चिता भएको समृद्ध नेपाल बुबाको सपना थियो,’ उनले भने, ‘यो सपना पूरा गर्न सके मात्र उहाँप्रतिको श्रद्धाञ्जली पूरा हुनेछ।’

सुहाङले आफू राजनीतिमा सक्रिय नभएको र अवसर पनि राजनीतिक परिवारमा जन्मेको मान्छेलाई नै दिनुपर्छ भन्नेमा आफू नरहेको बताए।

‘म राजनीतिमा सक्रिय छैन। तर, म बुबासँग हुर्किएको हो। राजनीतिक परिवारमा हुर्केको हो। राजनीतिक परिवारमा जन्मियो भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने म कदापि ठान्दिनँ,’ सुहाङले भने, ‘तर, राजनीतिक जिम्मेवारी नहुँदा नहुँदै पनि बुबाको सपना, बुबाले छाड्नुभएका अधुरा काम पूरा गर्नुपर्ने कार्यमा म सामाजिक र कानुनी हिसाबले अघि बढ्छु, त्यसका लागि हजुरहरूसँग हातेमालो गरेर अघि बढौँ भन्न चाहन्छु।’

सुवास नेम्बाङ इलाम क्षेत्र २ बाट प्रतिनिधिसभामा निर्वाचित सदस्य थिए। उनको निधनले यो क्षेत्र जनप्रतिनिधिविहीन भएको छ। संवैधानिक व्यवस्थाअनुसार यो क्षेत्रमा उपनिर्वाचन हुनेछ।

प्रकाशित: २ आश्विन २०८० १०:२३ मंगलबार