राजनीति

कसैको आलोचना गर्नुपरे नेम्वाङ भन्थे- ‘अनुहार झल्झली याद छ, नाम बिर्सें’

नेकपा (एमाले) उपाध्यक्ष, संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङको आज (मंगलबार) बिहानको राति हृदयघातका कारण निधन भयो । सालिन तर सिर्जनशील नेम्बाङ उनको स्वभाव र क्षमतामा जति चर्चित थिए, बेला–बेला गर्ने भाषणमा प्रयोग गर्ने पृथक शब्दका कारण पनि उनी गृहजिल्ला इलाम र देशभर चर्चामा रहन्थे ।

लिम्बु परिवार जन्मिभएको भएपनि नेम्बाङको लबज लिम्बुको जस्तो थिएन । इलाम सदरमुकाममै जन्मिएका, बाबु न्यायाधीश र सम्भवतः परिवारमा नेपाली मातृभाषीमात्र भएकाले नेम्बाङ नेपालीका शब्द स्पष्ट रूपमा उच्चारण गर्थे ।  

पछिल्लो पटक नेम्बाङले धेरै प्रयोग गर्नेगरेका चर्चित शब्द थिए– ‘अनुहार झल्झली सम्झिन्छु, नाम चाहिँ बिर्सें ।’  

नेम्बाङले प्रायः आफ्ना पछिल्ला भाषणमा यी शब्द छुटाउनै छाडेका थिए । उनले यी शब्दलाई कसैको आलोचना गर्नुपर्दा प्रयोग गर्थे । कुनै सार्वजनिक व्यक्ति वा प्रधानमन्त्री, गृहमन्त्री, विपक्षी नेतालगायतको अभिव्यक्ति, काममा आलोचना गर्नुपरे उसको नाम वा थर संकेत नगरी नेम्बाङ भन्थे– त्यो को हो भन्दा चाहिँ तपाइँहरूले पनि चिन्नुभएकै होला, अनुहार झल्झली सम्झिन्छु, नाम चाहिँ बिर्सें ।  

उनले यसो भनेपछि जुनसुकै सभा–समारोह हासोले गुञ्जिन्थे । त्यसपछि मुसुक्क हास्दै नेम्बाङ आफ्नो मन्तव्यलाई निरन्तरता दिन्थे । कुनै एउटा भाषणमा एकपटक होइन, सन्दर्भअनुसार पटक–पटक उनी यो शब्द मिठासपूर्ण शैलीमा दोहोर्याउँथे, तेहेर्याउँथे । अनि फेरि भन्थे– कसैको नाम चाहिँ बिर्सिहाल्ने मेरो बानी छ, अनुहार चैं झल्झली याद छ । पछिल्लो समय उनी कुनै कार्यक्रममा बोल्न पोडियममा उक्लिनेबित्तिकै कतिपय दर्शकदीर्घा कानेखुसी गर्थे– अनुहार झल्झली सम्झिन्छु, नाम चाहिँ बिर्सें । चोटिलो तरिकाले विपक्षीको कडा आलोचना गर्न खप्पिस नेम्बाङ राजनीतिक र आफ्नो निर्वाचन क्षेत्रका विकासे कामको गतिविधि सुनाउँदाका सन्दर्भमा यी शब्दको सहारा लिन्थे ।    

२०६४ सालको संविधानसभा निर्वाचनमा नेम्बाङ इलाम क्षेत्र २ बाटै चुनावी प्रतिस्पर्धामा थिए । कसैलाई छेड नहानी, कसैलाई दोष नलगाइ चुनावी सभाहरूमा भाषण गरेर उनले जिल्लामा ‘फरक’ शैलीका नेताको परिचय दिइसकेका थिए । संविधानसभा अध्यक्ष भएका बेला तटस्थ बन्ने प्रयासमा नेम्बाङ दुवै कार्यकाल आफ्नै जिल्लाको पार्टी (नेकपा एमाले) कार्यालयसमेत प्रवेश गरेनन् ।  

चुनावी भाषणमात्र होइन, अरू कुनै सभा–समारोहमा मन्तव्य दिँदा पनि नेम्बाङको जोड सधैं सहमति, सहकार्य र एकतामा हुन्थ्यो । २०६४ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका बेला उनले भाषणमा नछुटाउने गरेको अर्काे शब्द थियो– हिमाल, पहाड, तराई एकढिक्का भएर अघि बढ्नुपर्छ ।  

नयाँ संविधान निर्माणका बेला नेम्बाङले यी शब्द देशभर आफू सहभागि सभा–समारोहमा प्रयोग गरे । संविधानसभा अध्यक्ष भएका बेला पनि गृहजिल्ला इलाम पटक–पटक आएका नेम्बाङले कार्यक्रमैपिच्छे एउटै शब्दलाई जोड दिनेगरेको पाएर पत्रकार र उनकै दलका नेता–कार्यकर्तासमेत उनकै शब्द सापटी लिएर ठट्टा गर्थे– हिमाल, पहाड, एकढिक्का । कतिपय सन्दर्भमा नेम्बाङ भन्थे– ‘मैले फलानालाई भनिसकेको छु, अब त्यो काम हुन्छ ।’ अर्थात्, फलानाफलानालाई मैले अनुरोध गरेको छु, त्यहाँबाट सकारात्मक जबाफ पाएको छु, अब त्यो काम हुन्छ भन्दै उनी जिल्लाबासीलाई नयाँ संविधान बन्नेमा ढुक्क रहन पटक–पटक आग्रह गरिरहन्थे । आफू संविधानसभा अध्यक्ष भएका बेला यी शब्द पनि पटक–पटक दोहो¥याएपछि गृहजिल्लाबासी उनको प्रसंग आउँदा हस्यौलीसमेत गर्थे– ‘मैले रतुवाखोलालाई पनि अब क्षति नगर्नू भनेको छु, रतुवाले हुन्छ भनेको छ, अब त्यसले क्षति गर्दैन ।’  

सहमति, सहकार्य र सबै एकढिक्का हुनुपर्ने उनको जोड त छँदैथियो, उनकै नेतृत्वमा रहेको संविधानसभाले २०७२ सालमा नयाँ संविधान जारी गर्यो ।  

नेम्बाङ प्रायः सबैजसो भाषणमा नयाँ कुुरा सुनाउँदैनथे । तर, उनी आफू नयाँ कुरा सुनाउनै आएको भन्दै जिल्लाबासीसामु मन्तव्य दिन्थे । र, कतिपय कार्यक्रममा आफ्नै नाम ‘सुवासचन्द्र नेम्बाङ’को छोटकरी रूप ‘सूचने’लाई उनी नयाँ सूचना दिने व्यक्तिका रूपमा अथ्र्याउँथे । अनि भन्थे– मेरो नामको छोटकरी रूपले पनि मेरो काम सूचना दिने नै भन्छ, देशका नयाँ सूचना म तपाइँहरूलाई दिन्छु ।  

तर, पुरानै कुरालाई शैलीबद्ध गर्न माहिर उनी प्रायः चुनावी सभाहरूमा अघिल्लै दिन वा त्यहीभन्दा अघिको कार्यक्रममा गरेकै भाषण करिब–करिब जस्ताको तस्तै पस्किन्थे । यही फाइदा उठाउँदै इलामका एक पत्रकारले २०७० सालको संविधानसभा निर्वाचनका बेला इलाम क्षेत्र २ को एक चुनावी सभामा नेम्बाङले दिएको अभिव्यक्तिलाई लिएर समाचार लेखेछन् । तर, समाचार सञ्चारमाध्यममा आउँदा पनि नेम्बाङ भने त्यो कार्यक्रममा सहभागी हुन पुगेकै रहेनछन् । उनले आफू बोलेको भनिएको समाचार चाहिँ पढेछन् । भोलिपल्ट बिहान सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा नेम्बाङले पत्रकारहरूका अघि हासोठट्टामै जबाफको मौका छोपिहाले– ‘हुन त मैले बोल्ने कुरा तपाइँहरूलाई पहिल्यै थाहा हुन्छ, हिजो पनि म बोल्दै नबोली मैले बोलेको भनेर समाचार आएछ ।’

प्रकाशित: २६ भाद्र २०८० ०४:०६ मंगलबार

‘अनुहार झल्झली याद छ नाम बिर्सें’ सुवासचन्द्र नेम्बाङको निधन सुवास नेम्बाङको निधन