राजनीति

सांसदलाई पेन्सन दिन दबाब

काठमाडौं- संसद्को राज्य व्यवस्था समितिमा सांसदहरूलाई पेन्सनको व्यवस्था गर्नुपर्ने माग राखेर निवेदन परेको छ । पूर्वसांसद मञ्चको टोलीले बिहीबार राज्य व्यवस्था समितिका सभापति दीलबहादुर घर्तीलाई भेटेर संसदीय अभ्यास अपनाउने मुलुकहरूमा जस्तै  नेपालमा पनि पूर्वसांसदलाई पेन्सनसहित सुविधा उपलब्ध गराउन निवेदन बुझाएको हो ।

पूर्वसांसद मञ्चले संसदीय अभ्यास अपनाउने मुलुकहरूमा जस्तै  नेपालमा पनि पूर्वसांसदलाई पेन्सनसहित सुविधा उपलब्ध गराउन राज्य व्यवस्था समितिमा निवेदन बुझाएको छ ।

पेन्सनसहित पूर्वसांसदलाई योगदानमा आधारित उपचार बिमाको व्यवस्था गर्नुपर्ने, मर्यादाक्रम निर्धारण गर्नुपर्ने, मासिक यातायात खर्च पाँच हजार रुपैयाँ दिनुपर्ने माग निवेदनमा गरिएको जानकारी पूर्वसांसद मञ्चका उपाध्यक्ष गोविन्दबहादुर शाहले दिए ।

पूर्वसांसदलाई स्थास्थ्य र यातायातमा सहुलियत तथा आर्थिक सुविधा दिनुपर्नाका पछाडि आठ कारण रहेको निवेदनमा उल्लेख छ । योग्य व्यक्तिहरूलाई राजनीतिमा आकर्षित गर्न, राजनीतिक क्षेत्रलाई मर्यादित बनाउन, राजनीतिक क्षेत्रमा हुने भ्रष्टचार रोक्न, राजनीतिक सेवाका क्रममा सांसदजस्तो उपल्लो तहमा पुगेर निवृत्त व्यक्तिको जीवनयापनमा सहज बनाउन, लोकतान्त्रिक प्रणाली बलियो बनाउन, पूर्वसांसदहरूको अनुभवलाई राष्ट्रको सेवामा निरन्तर प्रयोग गरिरहन, अन्तर्राष्ट्रिय स्तरमा समरुपता एवं समकक्षता कायम गर्न पूर्वसांसदलाई पेन्सनलगायत सुविधा उपलब्ध गराउनुपर्ने जिकिर निवेदनमा गरिएको छ ।

पूर्वसांसदले बेलायतमा वार्षिक ५० हजार पाउण्ड स्टर्लिङ, भारतमा मासिक ३२ हजार रुपियाँ र अमेरिकामा वार्षिक ४७ हजार डलर पाउने निवेदनमा उल्लेख गर्दै पूर्वसांसद मञ्चले यहाँ पनि पेन्सन माग गरेको हो । संसदीय अभ्यास अपनाएका  कतिपय विकसित देशमा वृद्ध अवस्थामा पुगेपछि मात्रै पूर्वसांसदलाई पेन्सन दिने गरिएको छ । अमेरिकामा ६२ वर्ष पुगेपछि मात्र पूर्वसांसदले पेन्सन सुविधा पाउँछन्  । इजरायल र अस्ट्रेलियमा ५५ वर्ष पुगेपछि मात्रै पूर्वसांसदले पेन्सन पाउँछन् ।  

समितिमा बिहीबारदेखि पूर्वपदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयकमाथि दफाबार छलफल सुरु भएको छ बिहीबार समितिको बैठक बस्नुअघि पूर्वसांसद मञ्चले अन्तर्राष्ट्रिय अभ्यासबमोजिम पूर्वसांसदलाई पेन्सनलगायत सुविधा दिनुपर्ने मागसहित निवेदन दिएको थियो । यसै कारण पूर्वपदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक बिहीबार समितिको बैठकबाट पारित हुन सकेन । यसअघि पनि पूर्वसांसद मञ्चले संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई यस्तै प्रकारको निवेदन दिएको थियो ।

पूर्वराष्ट्रपतिबाट पनि सुविधा बढाउन भन्दै समितिमा निवेदन  आएको छ । पूर्वराष्ट्रपतिलाई दुहुनु गाई र दुई सवारीसाधनसहितको सुविधा दिनुपर्ने तथा औषधोपचार खर्च स्पष्ट हुनुपर्ने माग आएको छ ।

पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति पूर्वसांसदले सेवासुविधा बढाउन दबाब दिएपछि समिति थप सोच्नुपर्ने अवस्थामा पुगेको छ । 

पूर्वपदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयकमा छलफल गर्न शुक्रबार पनि समितिको बैठक बोलाइएको छ । शुक्रबारको १ बजे संसद् बैठक बस्ने कार्यक्रम छ । ‘घटीमा एकपटक प्रतिनिधिसभा सदस्य वा राष्ट्रियसभा सदस्य वा संविधानसभा सदस्य वा संघीय संसद् सदस्य भइसकेकाहरूको मर्यादाक्रम निर्धारण गर्न र उनीहरूलाई औषधोपचार, यातायात र अन्य सुविधा उपलब्ध गराउन’ भन्ने वाक्य पूर्वपदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयकमा थप्न पाँच सांसदबाट संशोधन प्रस्ताव दर्ता भएको छ । कांग्रेसका सांसदहरू तप्तबहादुर बिष्ट, सञ्जय गौतम, नरबहादुर चन्द, राजीवविक्रम शाह र फोरम लोकतान्त्रिककी सांसद कल्पना चौधरीले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराका छन् ।

प्रकाशित: २३ भाद्र २०७४ ०३:१८ शुक्रबार

सांसदलाई पेन्सन दबाब