राजनीति

अनुसन्धानलाई प्रभावित नगरी उच्चस्तरीय संयन्त्र बनाउन एमालेको माग

नेकपा एमालेले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) को अनुसन्धानलाई प्रभावित नपार्ने गरी सुन तस्करी अनुसन्धान गर्न उच्चस्तरीय संयन्त्र बनाउन माग गरेको छ।

आइतबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले यस्तो बताएका हुन्।

उनले उच्चस्तरीय छानबिन समिति गठनको माग यथावत रहेको पनि बताए। गिरीले क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिरहेको भन्दै छानबिन समिति गठन गर्न सरकार गम्भिर हुनुपर्ने बताए। सरकारको अकर्मण्यताका कारण संसद अवरुद्ध भएको उनले जिकिर गरे। सुन तस्करी प्रकरणमा राजनीतिक नेतृत्वहरुको पनि नाम सार्वजनिक भएको भन्दै ती व्यक्तिहरुलाई सिआईबीले छानबिनको दायरामा ल्याउन नसकेको बताए।

गिरीले भने, ‘पछिल्लो घटनाक्रम हेर्दै जाँदा नक्कली भूटानी शरणार्थी प्रकरणमा सरकारले दोस्रो चरणको छानबिन गर्छौं भन्दै थियो। सरकारले फाइल खोल्छु भन्दै गर्दा एकातिर प्रहरीका अधिकारी सरुवा गर्ने काम गरेको छ। सुन तस्करी प्रकरणमा राजनितीक व्यक्तिहरुपनि सहभागी छन् भन्ने कुरा विभिन्न मिडियाबाट सार्वजनिक भइरहेका छन्। ती मान्छेहरुलाई सिआईबीले छानबिनको दायरामा पनि ल्याउन सकेन। सरकारले छानबिनमा ल्याउनपनि चाहेको अवस्था छैन। क्विन्टलका क्विन्टल सुन नेपाल भित्रिने कुरा धेरै गम्भिर विषय हो। उच्चस्तरीय छानबिन समिति अपरिहार्य छ भन्ने कुरा पछिल्ला घटनाले पनि पुष्टी गरेका छन्। हामीले उच्चस्तरीय छानबिन समितिको मागलाई यथावत नै राख्यौं। सिआईबीले छानबिन गर्ने सन्र्दभमा हाम्रो अन्यथा भनाई होइन। सिआईबीले छानविन गरोस्। तर, उच्चस्तरीय छानबिन समिति यस्तो हुन्छ की सीआईबीले गरेको छानबिनमा कहीँ कमिहरु छन् भने ओभरसाईडपनि गर्ने र समग्र तस्करी भइरहेको छ यसका नितिगत समस्याहरु कहाँ छन्? संरचनागत सुधारहरु कहाँ कहाँ गर्नुपर्नेछ? समग्रमा यसको अध्ययन अनुसन्धान गरेर सरकारलाई एउटा प्रतिवेदन बुझाउने र भविष्यमा नेपालमा तस्करी हुने कुराको अन्त्य गर्नुपर्छ भन्ने हिसावले हामिले यो माग गरेका हौं। यसमा सरकार कसरी प्रश्तुत हुन्छ, आउने मितिले धेरै कुराको प्रभाव हुन्छ।’

प्रकाशित: ३ भाद्र २०८० ११:०२ आइतबार

नेकपा एमाले