राजनीति

जिल्ला समन्वय समितिमा कांग्रेस एक्लियो

बाग्लुङ- स्थानीय तह निर्वाचनमा अपेक्षाकृत सफलता हाँसिल गर्न नसकेको नेपाली काँग्रेस जिल्ला समन्वय समिति गठनमा एक्लिएको छ। काँग्रेस बाहेकका दलहरुले समन्वय समिति गठनमा गठबन्धन गरेपछि काँग्रेस एक्लिएको हो। एकलौटी रुपमा कुनै पनि दलको बहुमत नपुग्ने भएपछि यहाँको जिल्ला समन्वय समितिमा कसले अर्को दललाई रिझाएर बाजी मार्छ भन्ने सबैको चासो थियो । निर्वाचनको बेला सबैको अपेक्षा भन्दा बढि सफल भएको एमाले यो कुरामा पनि एक कदम अगाडी देखिएको छ । एमालेले तीन मतदाता भएको राष्ट्रिय जनमोर्चालाई प्रमुख दिएर माओवादी केन्द्र र राप्रपालाई मिलाई जिल्ला समन्वय समिति गठन गर्ने भएको छ। कुल १० स्थानीय तहमा २० मतदाता भएको बाग्लुङमा एमाले, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र र राप्रपा गरी १२ मत छन्। काँग्रेसको ८ मत छ।

 स्थानीय निर्वाचनमा कोसंग गठबन्धन गर्ने भन्ने कुरा निक्र्यौल गर्न नसकेर बाग्लुङ नगरपालिकामा उम्मेदवार विहीन भएको नेकपा माओवादी केन्द्रले पनि समन्वय समिति गठन गर्दा एमाले राजमोलाई साथ दिने भएको छ । गठबन्धन गरेका दलबाट समन्वय समितिको संयोजकमा राजामो राजेन्द्र ढुङ्गाना र सहसंयोजकमा एमालेका विष्णु भुषाल उम्मेदवार भएका छन् । काँग्रेसले संयोजकमा लक्ष्मण आचार्य र सहसंयोजकमा रामप्रसाद विकलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय जनमोर्चाले संयोजक सहित एक महिला सदस्य, एमालेले सहसंयोजक सहित दुई सदस्य, माओवादी केन्द्रले तीन सदस्य र राप्रपाले एक सदस्य भागबण्डा लगाएका छन् । समन्वय समितिको मतदान साउन २० गते हुँदैछ।

उम्मेदवारी दर्ता भैसकेकाले ठूलै तलमाथी केही नभए एमाले सहितको गठबन्धनले जिल्ला समन्वय समिति बनाउने पक्का छ । काँग्रेस एमालेको मुख्य प्रतिस्पर्धी भएकाले अन्य दलहरुसंगको तालमेलमा जिल्ला समन्वय समिति गठन गर्ने तयारी गरिएको एमाले जिल्ला सचिव लालबहादुर थापाले बताए। ‘काँग्रेस हाम्रो मुख्य प्रतिद्वन्दी हो,’ थापाले भने,‘जोसंग प्रतिस्पर्धा छ उसैसंग तालमेल गर्ने कुरा भएन। अन्य दलसंग कार्यगत एकता गरे अगाडी जान सहमति भएको हो ।’ जिल्ला समन्वय समिति गठनमा पनि काँग्रेस अल्पमतमा परेपछि काँग्रेस कार्यकर्ताहरु निराश भएका छन् । नेतृत्वले समयमै उचित निर्णय लिन नसक्दा समस्या पैदा भएको कार्यकर्ताको गुनासो छ । नेपाली काँग्रेसका जिल्ला सचिव नवराज पौडेलले विभीन्न दलहरुसंग गठबन्धन गर्ने प्रयास गरिए पनि सफल नभएको बताए ।

 ‘हाम्रो मात्रै बहुमत पुग्न अवस्था थिएन,’ उनले भने,‘अन्य दलसंग छलफल गर्दा कुरा मिलेन । एक्लै भए पनि उम्मेदवारी दर्ता गरेका छौं ।’ केन्द्रबाट काँग्रेससंग गठबन्धन गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रले पनि काँग्रेसले सही समयमा निर्णय गर्न नसक्दा गठबन्धन गर्न नसकेको बताएको छ । ‘हामीले यहाँको प्रजातान्त्रिक शक्तिसंग पनि छलफल गरेका हौं,’ नेकपा माओवादी केन्द्र बाग्लुङ इन्चार्ज चन्द्र बुढा सागरले भने,‘काँग्रेस गम्भीर नदेखिएपछि हामीले अर्को शक्तिसंग गठबन्धन गर्ने निर्णय गरेका हौं ।’ समन्वय समिति गठनका लागि साउन २० गते दिनको १ बजेदेखि ३ बजेसम्म मतदान हुने मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेले बताए ।

 

प्रकाशित: १६ श्रावण २०७४ ११:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App