राजनीति

रवि निर्वाचित भएको सय दिन: ब्लु बसदेखि सय जनालाई रोजगारीसम्म

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित भएको सय दिन पुगेको अवसरमा विभिन्न कार्यक्रमको घोषणा गरेका छन्।

आफ्ना मतदातालाई गरेका बाचा अनुरूप लामिछानेले बुधबार भरतपुरमा ११ वटा कार्यक्रमको घोषणा गरेका हुन्। उनले जनतासँग प्रत्यक्ष जोडिने खालका योजना अगाडि सारेका छन्। ‘सोच्यौ, बोल्यौ र गर्‍यौ सय दिनमा हामी’ भन्ने नारासहित रविले निःशुल्क बस सेवादेखि हेल्लो रविसम्मका कार्यक्रम घोषणा गरेका हुन्।

महिलाहरूलाई लक्षित गर्दै लामिछानेले निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका छन्। उनले भरतपुरको बाइपासस्थित पार्टीको सचिवालयबाट बस चढेर सेवा सुरुवात समेत गरे। ‘ब्लु बस’ नाम राखिएको बस निर्वाचन क्षेत्र नम्बर २ का विभिन्न रुटमा चल्नेछ।

पहिलो चरणमा पाँच सय महिलालाई निःशुल्क यातायात कार्ड वितरण गरिने लामिछानेले जानकारी दिए।

‘महिलाहरुका लागि सुरक्षित सार्वजनिक यातायात हुनै पर्दथ्यो। हामीले एउटा बसबाट सेवा सुरु गरेका छौँ,’ उनले भने, ‘महिला दिदीबहिनीको गुनासो टिप्नका लागि रविदाईलाई चिठी भन्ने मतपेटिका समेत राखेका छौँ।’

बसभित्र महिलाका लागि आवश्यक पर्ने स्यानेटरी प्याड लगायतका सामाग्रीको समेत व्यवस्था हुने लामिछानेले बताए। बस विभिन्न स्रोत जुटाएर संचालन गरिएका लामिछानेको भनाई छ। उनले यो बस सेवा प्रभावकारी बनेमा थप बस समेत संचालन गरिने जानकारी दिए।

लामिछानेले ६५ वर्षभन्दा माथिका नागरिकलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेका छन्। हरेक दिन नयाँ टोलमा पुगेर प्राथमिक उपचार दिने उद्देश्यले यो सेवा सुरु गरेका हुन्। मोबाइल क्लिनिक नाम दिइएको एम्बुलेन्स मार्फत स्वास्थ्यकर्मीहरु टोल टोलमा पुग्ने जनाइएको छ।

सय दिनको प्याकेज अन्तर्गत लामिछानेले विपन्न परिवारका लागि पाँच लाख बराबरको स्वास्थ्य उपचार निःशुल्क गर्ने घोषणा गरेका छन्। उनले स्वास्थ्य बिमा मार्फत यो कार्यक्रम अगाडि बढाइने जनाएका छन्। सुरुवातमा सय जना विपन्न परिवार छनोट गरी काम सुरु गरिएको लामिछानेले बताए। यसका लागि स्वास्थ्य बिमा कार्ड समेत बनाइने उनको भनाई छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा फर्कन चाहने सय जना भन्दा बढीलाई जागिरको व्यवस्था गरेको जानकारी दिएका छन्। उनले बिना पैसा विदेशबाट फर्काएर रोजगारी दिने व्यवस्था गरेको बताएका हुन्।

‘चुनावमा आफूले बोले अनुसार फ्री टिकटमा नेपालमै फर्किन चाहनेका लागि १०० भन्दा बढी जागिरको व्यवस्था गरेका छौं, त्यो पनि ‘बिना ढेउवा के’।

‘अहिलेकालागि यी रोजगारी खोजिएको हो, छिट्टै रोजगारी सृजना गर्ने वातावरण बनाउने छौँ,’ उनले भनेका छन्। उनले विदेश लैजाने म्यानपावर कम्पनीहरूको विज्ञापनहरू देशका पत्रिका, अनलाइन र चोकका पसलहरूमा छापिएको बताए।

सभापति लामिछानेले चितवन निर्वाचन क्षेत्र नम्बर २ मा हरेक चार–चार महिनामा सार्वजनिक सुनुवाइ गर्ने भएका छन्। उनले पहिलो पटक भदौ १० गते सार्वजनिक सुनुवाइ गर्ने जानकारी दिए। त्यसमा सहभागी भएर नागरिकले सरोकारवालासँग प्रत्यक्ष गुनासो सुनाउन पाउनेछन्।

दुई विद्यालयलाई प्रविधिमैत्री नमुना बनाउने योजना सभापति लामिछानेले अघि सारेका छन्। उनले चितवन क्षेत्र नम्बर २ अन्तर्गत पर्ने रामनगर मावि र चर्तुमुखी माविको कक्षा ११ र १२ लाई पहिलो चरणमा नमुना बनाउने घोषणा गरेका हुन्। बिस्तारै अन्य विद्यालयलाई पनि नमुना बनाउने लक्ष्य राखेको उनले जनाएका छन्।

इच्छाकामना गाउँपालिका स्थित राष्ट्रिय आधारभूत विद्यालयलाई स्तरोन्नति गरी नमुना बनाउने उनले बताएका छन्। कक्षा ७ सम्मको यस विद्यालयलाई कक्षा १२ सम्म स्तरोन्नति गर्नुका साथै आवसिय बनाउने कार्य थालनी गरिने लामिछानेको भनाई छ।

जनताको गुनासो सुन्नका लागि लामिछानेले हेल्लो रविको सुरुवात गरेका छन्। उनले सचिवालय र अनलाइन मार्फत जनताको गुनासो सुन्ने बताएका छन्। जनताको गुनासो समाधानका लागि सचिवालयले काम गर्नेछ।

प्राकृतिक विपत्तिमा सघाउनका लागि लामिछानेले र्यापिड एक्सन टिम (आरएटी) टिम बनाउने घोषणा गरेका छन्। यो टिमले विपतको समयमा नागरिकलाई सहयोग गर्नेछ।

रविले निर्वाचनमा आफूले प्राप्त गरेको मत अनुसार ५४ हजार १ सय ७६ बिरुवा रोप्ने भएका छन्। हरेक मतदातालाई यो अभियानमा सहभागी गराउने उद्देश्यले बिरुवा रोप्न लागिएको उनले बताए।

सांसद लामिछानेले आफूले गरेका कामलाई सहयोग पुर्‍याउनका लागि चितवन क्लब गठन गरेको बताए। विदेशमा बस्ने सम्पूर्ण चितवनवासीलाई एकजुट भएर आफूले गरेका कामहरूमा हातेमालो गर्न उनले अपिल गरे।

उनले आफूले अगाडि सारेका कार्यक्रमहरुलाई निरन्तरता दिने बताएका छन्। केही योजना, केही प्रयोग, समग्रमा आफ्ना मतदातालाई गरेका बाचा पुरा गर्ने अभिलाषाका साथ काम गरेको उनले भनाइ छ। यी कार्यक्रम सञ्चालन गर्न सांसद विकास कोषको पैसा सञ्चालन गर्ने उनले बताए।

लामिछानेले योजनाहरु अघिसारे पनि आर्थिक विवरण भने सार्वजनिक गरेनन्। योजना सञ्चालन गर्न विभिन्न स्रोत खोजिने उनले सुनाए।

प्रकाशित: १७ श्रावण २०८० ०८:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App