राजनीति

पत्रकार श्रेष्ठ वडाध्यक्षमा विजयी

वडाध्यक्षमा विजयी भएपछि मतदातालाई धन्यवाद दिँदै र विजयोत्सव मनाउँदै पत्रकार श्रेष्ठ । तस्बिर ः नागिरक

इलाम– नेपाल पत्रकार महासंघ इलाम शाखाका सदस्य ठाकुर श्रेष्ठ इलाम नगरपालिका–५ को वडाध्यक्षमा विजयी भएका छन् । नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले नेपाली कांग्रेसका पदम पौडेललाई पराजित गरे । 

श्रेष्ठले १ हजार १ सय १२ र पौडेलले १ हजार ४६ मत ल्याए । पत्रकार श्रेष्ठले आफूले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएपछि महासंघबाट राजीनामा दिएको जनाएका छन् । उनी इलाम पोष्ट दैनिक र इलाम आवाज साप्ताहिकका कार्यरत थिए । विजयी भएपछि श्रेष्ठले वडाको सामाजिक, आर्थिक विकास, समृद्धि र सुसंस्कृत समाज निर्माणका लागि आफूले काम गर्ने बताए । ‘पत्रकारिता पनि सामाजिक काम नै थियो, राजनीतिमा आएपनि गर्ने चाहिँ समाजको सेवा नै हो रहेछ,’ उनले भने, ‘चुनावी अभियानमा गरेका बाचा पूरा गर्नेमात्र होइन, वडामा जे आवश्यक छ, त्यसलाई ध्यान दिएर सबै पक्षसँग हातेमालो गरी अघि बढ्नेछु ।’ 

महासंघका कोषाध्यक्ष जय राईले पनि सूर्याेदय नगरपालिका–९ मा सदस्यका लागि उम्मेदवारी दिएका छन् । राईले महासंघबाट राजीनामा गरी एमालेको तर्फबाट खुला वडा सदस्य पदमा उम्मेदवारी दिएका हुन् । उनको वडाको मतगणना हुन बाँकी छ । राई रेडियो फिक्कल एफएममा कार्यरत थिए ।

जिल्लाकै रोङ गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिएका पत्रकार नवराज कट्टेल भने पराजित भएका छन् । उनी गाउँपालिका अध्यक्ष नेपाली कांग्रेसका समशेर राईको मतसँग तेस्रो स्थानमा रहे । कट्टेल विराटनगरमा रहेर गोर्खापत्रमा कार्यरत थिए । 

माइजोगमाई गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी पत्रकार संगीता थामी पनि स्थानीय तहम निर्वाचनमा पराजित भएकी छिन् । माओवादी केन्द्रक तर्फबाट उम्मेदवारी दिएकी उनी उपाध्यक्षमा नेकपा एमालेकी सावित्रा भट्टराईको मतसँग तेस्रो स्थानमा आइन् । थामी रेडियो नेपालवाणी एफएमका कार्यरत थिइन् । 

 

 

प्रकाशित: १८ असार २०७४ ११:०६ आइतबार