राजनीति

मतदान केन्द्र पुर्‍याइँदै निर्वाचन सामग्री

सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमा निर्वाचन सामग्री मिलाइँदै । तस्बिर : भीम चापागाईं

इलाम – असार १४ मा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक सामग्री धमाधम मतदान केन्द्रमा पठाइँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सियोदेखि सलाईसम्मका सामग्री मतदान केन्द्र पठाएको हो । 

सम्बन्धित केन्द्रका मतदान अधिकृतलाई कार्यालयले धमाधम सामग्री जिम्मा लगाइरहेको छ । अन्य सामग्रीभन्दा स्वस्तिक, स्टाम्प प्याड, नीलो मसी, मतपत्रजस्ता आधारभूत सामान चाहिँ आफ्नो भागमा परे–नपरेको पटक–पटक रुजु गर्न मतदान अधिकृतहरूलाई सजग गराएको छ । बर्खाको सिजन भएकाले कतिपय स्थानमा गाडीमा सामान पुर्याउन समस्या रहेको जिल्ला निर्वाचन अधिकारी प्रेम काफ्लेले बताए । तर, जसरी भएपनि त्यहाँ सामान पुर्याउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

मतदान केन्द्रमा यो पटक ६८ खाले सामान प्रयोग गरिँदैछन् । निर्वाचन आयोगका अनुसार मतदानका लागि मतदाता नामावली, मतपत्र, भोट हाल्न स्वस्तिक छाप, स्वस्तिक छापमा मसी लगाउन स्ट्याम्प प्याड, प्याडमा हाल्ने मसी, मतपत्र खसाल्न मतपेटिका, मतदान सकिएपछि मतपेटिका बन्द गर्न लाहा, त्यसलाई बाँध्ने डोरी, मैनबत्ती, कागज टाँस्ने ग्लुस्टिक, डोरी काट्न कैंची वा ब्लेड, सुरक्षण सिल, मतपेटिका हाल्न कपडाको थैलो, थैलो बन्द गर्न सियो–धागो, बोरा सिलाउन खापसियोलगायत पठाइँदैछ । 

मतदाता नामावली रुजु गर्न डटपेन, कागजी तथ्यांक संकलन गर्न स्ट्याप्लर, स्ट्याप्लर पिन, नाप्ने टेप, लाइटर, सलाई, मतगणनाका लागि मतपेटिका गाउँ वा नगरपालिकाको केन्द्रसम्म पुयार्उन रात पर्ने भए टर्च लाइट, झोला, मतदानस्थलमा कोही बिरामी परिहाले उनीहरूका लागि प्राथमिक उपचारका सामान र औषधि, प्लास्टिकका थैला, बोरा, कपडा, नउड्ने मसीलगायतका सामान बुथमा पठाउने आयोगको तयारी छ । 

मतदान अधिकृतका लागि रातो–कालो मसी भएका डटपेन, रिफिल, स्टिलको स्केल, मतदान केन्द्र बनाउन सुत्ली, पोस्टर टाँस्ने टेप, मतपत्र राख्ने कपडा र कागजले बनेको खाम, मतदान अधिकृतका लागि नोटबुक, कागजात हाल्ने फाइल, क्याल्कुलेटर, हात पुछ्ने कपडा, बोराको बाहिर लेख्ने मार्कर पेन र पञ्चिङ मेसिनलगायतसामग्री बुथसम्म पुग्नेछन् । १४ गते बेलुकी ५ बजे निर्वाचन सकिएपछि मतपेटिका गाउँ वा नगरपालिकाको केन्द्रसम्म पुर्याइने र मतगणना त्यहीं गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।    

 

प्रकाशित: ९ असार २०७४ ०९:०१ शुक्रबार