राजनीति

राष्ट्रपति आज जेनेभा जाँदै

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी हुन मंगलबार स्विट्जरल्यान्डको जेनेभा जाने भएकी छन्। 'वल्ड अफ वर्क समिट' नाम दिइएको उक्त सम्मेलनलाई राष्ट्रपति भण्डारीले बिहीबार सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

'यसपटकको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको थिम 'वमन एट वर्क' रहेको छ। सम्मेलनमा राष्ट्रपतिले नेपालको राजनीतिमा महिला सहभागिता तथा प्रतिनिधित्वको प्रगतिका विषयमा बोल्नुहुनेछ,' परराष्ट्र मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपतिले सम्मेलनमा नेपालमा महिलालाई प्राप्त अवसर र चुनौतीबारे पनि आफ्नो धारणा राख्नेछिन्।

सम्मेलनमा माल्टा र मौरिससका राष्ट्राध्यक्ष पनि सहभागी हुनेछन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले नेपाल, माल्टा र मौरिससका राष्ट्राध्यक्षलाई विशेष रूपमा निमन्त्रणा गरेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ। 'आईएलओले सम्मेलनमा नेपालको राष्ट्राध्यक्षलाई बोलाएको यो पहिलोपटक हो,' विज्ञप्तिमा उल्लेख छ। नेपाल सन् १९६६ देखि आइएलओको सदस्य रहँदै आएको छ।

जेनेभामा रहँदा राष्ट्रपति भण्डारीसँग  आईएलओका महानिर्देशक गाई रेडरले शिष्टाचार भेट गर्नेछन्। रेडरले सम्मेलनमा सहभागी राष्ट्राध्यक्षको सम्मानमा  दिवाभोजको आयोजना गर्नेछन्। जेनेभास्थित नेपाली स्थायी नियोगका स्थायी प्रतिनिधि दीपक धितालले आयोजना गर्ने एक समारोहमा पनि राष्ट्रपति भण्डारी सहभागी हुने जनाइएको छ। राष्ट्रपति भण्डारी असार ४ गते स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: ३० जेष्ठ २०७४ ०२:०९ मंगलबार

राष्ट्रपति जेनेभा जाँदै