राजनीति

राष्ट्रपति जेनेभा जाँदै

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजना भइरहेको ‘१०६औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलन’को एक भागका रूपमा रहेको ‘रोजगारीको विश्वशिखर बैठक’ मा भाग लिन मङ्गलबार त्यसतर्फ जाने भएकी छन्।  

राष्ट्रपति भण्डारीले उक्त शिखर बैठकलाई आगामी असार १ गते सम्बोधन गर्नेछिन्। यस वर्ष शिखर बैठकको नारा ‘रोजगारीमा महिला’ रहेको छ । उनले नेपाली राजनीतिका साथै रोजगारीको दुनियाँमा महिलाको सहभागिता तथा प्रतिनिधित्वमा भएका प्रगतिका विषयमा उल्लेख गर्दै यस क्षेत्रमा रहेका चुनौती सम्बोधन गर्न भएका प्रयासका विषयमा प्रकाश पार्ने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठनले राष्ट्रपति भण्डारीका साथमा माल्टा तथा मरिससका राष्ट्रप्रमुखहरूलाई पनि सो शिखर बैठकमा सहभागिताका लागि आमन्त्रण गरेको छ । नेपालका राष्ट्रप्रमुखलाई यस्तो शिखर बैठकमा सम्बोधन गर्न श्रम सङ्गठनले आमन्त्रण गरेको यो पहिलो वर्ष हो । नेपाल सन् १९६६ मा यस सङ्गठनको सदस्य बनेको हो।

श्रम सङ्गठनका महानिर्देशक गाय राइडरले असार १ गते राष्ट्रपति भण्डारीसँग भेट्नाका साथै उनको सम्मानमा दिवाभोज आयोजना गर्नेछन्। राष्ट्रपति भण्डारीका सम्मानमा संयुक्त राष्ट्र सङ्घका लागि नेपालका राजदूत तथा स्थायी प्रतिनिधि दीपक धिताल तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनले जेनेभामा स्वागत कार्यक्रम आयोजना गर्नेछन्।

राष्ट्रपति भण्डारीका साथमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, राष्ट्रपतिका स्वकीय सचिव डा विमला पौडेल राई तथा परराष्ट्र मन्त्रालयका अन्य वरिष्ठ अधिकृत सहभागी हुने मन्त्रालयको विज्ञप्तिमा उल्लिखित छ । राष्ट्रपति भण्डारी असार ४ गते काठमाडौँ फर्कनेछन्। रासस

 

प्रकाशित: २९ जेष्ठ २०७४ ११:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App