राजनीति

देउवा नेतृत्वमा बहुमतीय सरकारको सम्भावना

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ । संवैधानिक व्यवस्थाअनुसार सहमतिको सरकार गठनको सम्भावना टर्दै जाँदा देउवाको नेतृत्वमा बहुमतीय सरकार गठनको सम्भावना बढेको हो ।

सहमतीय सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सातदिने समय सकिन लाग्दा कांग्रेसले मंगलबार आयोजना गरेको सर्वदलीय बैठकमा वर्तमान सत्ता गठबन्धनमा रहेका दलले नयाँ सरकार गठनका लागि पनि समर्थन गर्ने आश्वासन दिएका छन् ।

दलहरुबीच जारी गृहकार्यअनुसार बहुमतीय प्रक्रियाबाट शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा साढे तीन सयभन्दा बढी सांसद्को समर्थन रहनेछ

नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) सहितका दलले सहमतीय सरकार गठनको सम्भावना नरहे कांग्रेस नेतृत्वमा बहुमतीय सरकार गठनका लागि पनि समर्थन रहने स्पष्ट पारेका हुन् । यसअनुसार बहुमतीय प्रक्रियाबाट देउवा प्रधानमन्त्री बन्दा साढे तीन सयभन्दा बढी सांसद्को समर्थन रहनेछ । प्रमुख प्रतिपक्षी एमाले सहभागी नरहेको बैठकमा विपक्षी गठबन्धनमा रहेका साना दलले सहमतिको सरकार गठनमा जोड दिएका थिए । नेकपा माले, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दलसहित विपक्षी गठबन्धनमा रहेका दलले प्रधानमन्त्रीको उम्मेदवार र अजेन्डाका आधारमा समर्थन वा विरोधबारे निर्णयमा पुग्न सकिने धारणा राखे ।

बैठकमा सहभागी परिवार दलका अध्यक्ष एकनाथ ढकालले वर्तमान सत्ता गठबन्धनमा रहेका दल कांग्रेस नेतृत्वमा सरकार बनाउन सकारात्मक रहेको बताए । ‘सत्ता गठबन्धनमा रहेका दलले जे भए पनि कांग्रेसलाई समर्थन गर्ने आशयका साथ विचार आए,’ ढकालले नागरिकसँग भने, ‘प्रधानमन्त्रीको उम्मेदवारको टुंगो पनि लागिसकेको छैन । साथै अजेन्डा तय भएपछि मात्र विपक्षी गठबन्धनमा रहेका साना दल पक्ष वा विपक्षमा उभिने निर्णयमा पुग्छौं ।’ उनले संविधान कार्यान्वयन, तीनै तहको निर्वाचन, आन्तरिक एकतासहितका विषयमा प्रधानमन्त्रीका उम्मेदवारको धारणा आएपछि मात्र आफूहरू निर्णयमा पुग्ने बताए। 

संसद्मा एमाले नेतृत्वको गठबन्धनमा एक सय ९६ सांसद छन् । दुई सय सात सांसद रहेको कांग्रेस, ८२ सांसद रहेको माओवादी, १७ सांसद रहेको फोरम लोकतान्त्रिक, तीन सांसद रहेको नेकपा संयुक्तसहितका दल सरकारमा सहभागी छन् । केही दिनअघि सरकारबाट बाहिरिएको राप्रपाका ३७, राजपाका २५ र संघीय समाजवादी फोरमको १५ सांसद् छन्।

कांग्रेसले बोलाएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान कार्यान्वयन र सर्वस्वीकार्यतासहित समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहयोग र समर्थन गर्न तयार रहेको धारणा राखेका थिए । पूर्वसहमतिअनुसार कांग्रेस नेतृत्वमा सरकार गठनका लागि आफूले राजीनामा गरेको स्पष्ट पार्दै दाहालले सहमतिको सरकार गठन हुन नसकेमा बहुमतीय प्रक्रियामा पनि साथ रहने स्पष्ट पारे । ‘कांग्रेससँगको सहमति कार्यान्वयन गर्न प्रतिबद्ध छौं,’ दाहाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘सबै मिलेर मुलुकलाई निकास दिऊँ।’

संविधान सर्वस्वीकार्य बनाएर कार्यान्वयनमा लैजान वर्तमान सत्ता गठबन्धनले प्रयास जारी राख्ने स्पष्ट पार्दै दाहालले दुईतिहाइ नपुगेकै कारण संशोधन अघि बढ्न नसकेको पनि सुनाएका थिए । संविधानप्रति असन्तुष्टि जनाउँदै आएका राजपासहितका दललाई सरकारमा सहभागी हुँदै निर्वाचनमा भाग लिन पनि दाहालले आग्रह गरेका थिए। 

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष कमल थापाले कांग्रेस नेतृत्वमा सरकार गठनका लागि आफ्नो दल सकारात्मक रहेको बताएका थिए । कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाए आफ्नो दल प्रतिपक्षमा बस्ने स्पष्ट गर्दै थापाले बैठकमा भने, ‘लोकतान्त्रिक व्यवस्थामा प्रतिपक्षी हुनुपर्छ । तीन दल मिलेर सरकार बनाउने हो भने हामी प्रतिपक्षमा बस्छौं । होइन भने कांग्रेसलाई समर्थन गर्न हामी सकारात्मक छौं ।’ प्राविधिक र राजनीतिक केही विषयमा दुईपक्षीय छलफल आवश्यक भएको उनले बताए।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले गठबन्धनलाई समर्थन निरन्तर रहने बताए । ‘हामी अहिले पनि सरकारमा सहभागी छौं भोलि पनि निरन्तरता दिन चाहन्छौं ।’ राष्ट्रिय जनता पार्टी नेपालका नेताले विगतमा भएका सहमति पूरा नभएको भन्दै बिनासर्त सरकारलाई समर्थन गर्न नसक्ने स्पष्ट पारे । राजपाका नेता लक्ष्मणलाल कर्णले सरकार गठनमा निःसर्त कसैलाई पनि सहयोग नगरिने स्पष्ट पारे । ‘विगतमा भएका सम्झौता पूरा भएनन्’, उनले बैठकपछि भने, ‘उधारोमा होइन, अब हामी नगदमा कारोबार गर्न चाहन्छौं।’ 

माओवादी नेता नारायणकाजी श्रेष्ठले आफ्नै नेतृत्वमा सहमतीय सरकार गठनका लागि कांग्रेसले अन्य दललाई पत्र लेखर बैठक बोलाउनु ठीक नभएको धारणा राखेका थिए । कांग्रेस नेता रामचन्द्र पौडेलले संसदीय व्यवस्थामा सरकार गठन र विघटन नियमित प्रक्रिया भए पनि मुलुकको समस्या समाधान हुन्छ कि हुँदैन भन्ने मुख्य सवाल भएको धारणा राखे । उनले असन्तुष्ट पक्षलाई समेत समेटेर सरकार गठन गर्नुपर्ने सुझाए।

बैठकमा कांग्रेस सभापति देउवाले सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गरेको सन्दर्भमा संसद्को ठूलो दलको हैसियतले बैठक बोलाएको बताएका थिए । उनले एमाले अध्यक्ष केपी ओलीलाई घरमै गएर भेट्ने जानकारी दिए । बैठकमा सहभागीले एमालेसँग छलफल गर्न उनलाई सुझाएका थिए । एमालेसँगको छलफलपछि बुधबार पुनः बैठक राख्ने आश्वासन देउवाले अन्य दलका नेताहरूलाई दिएका छन् । बैठकपछि प्रधानमन्त्री दाहालले कांग्रेस नेतृत्वमै सरकार गठनका लागि राजीनामा दिएर बाटो छाडेको बताउँदै भने, ‘संविधान कार्यान्वयनका लागि दलहरू एक ठाउँमा आउनुपर्छ।’ 

दाहालले जेठ १० गते प्रधानमन्त्रीबाट राजीनामा गरेपछि राष्ट्रपतिले ११ गते दलीय सहमतिको सरकार गठनका लागि सात दिन समय दिएर आह्वान गरेकी थिइन् । यो समय बुधबार राति सकिँदैछ । त्यसपछि राष्ट्रपतिले संसद्लाई बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनका लागि पत्राचार गर्नेछिन् । राष्ट्रपतिको पत्रपछि संसद्ले प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउनेछ । अहिलेको प्रक्रिया र गठबन्धन निरन्तर अघि बढ्दा जेठ २३ भित्र कांग्रेस संसदीय दलका नेता देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनेछन्।

प्रकाशित: १७ जेष्ठ २०७४ ०१:४० बुधबार

देउवा नेतृत्वमा बहुमतीय सरकारको सम्भावना