राजनीति

‘बिप्लप’ माओवादीको आरोप पत्रकार नौ दिनदेखि हिरासतमा

गोरखा- जनता टेलिभिजनका पत्रकार विकास भट्टराईलाई ‘बिप्लव’ माओवादीको कार्यकर्ता भएको आरोप लगाएर एक साता देखि जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा राखेको खुलेको छ। जेठ २ गते गोरखा सदरमुकाममा जनता टेलिभिजनको टिसर्ट लगाएर रिपोर्टिङमा रहेका उनलाई निर्वाचनमा प्रहरी सँग मतगणनाको विषयमा बिवाद गरेको आरोपमा सार्वजनीक मुद्दा लगाइएको छ।

पत्रकार महासंघ ललितपुर शाखाको सदस्य रहेका उनी पक्राउ परेको दिन जनता टेलिभिजनमा गोरखाको खबर प्रत्यक्ष प्रशारण समेत गरेको बताउँछन्। ‘जाउँ केही कुरा गर्नु छ भनेर हिरासत लगेर थुने, मुद्दा चलाए’ भट्टराईले भने । प्रहरीले भने बिप्लप माओवादीको कार्यकर्ता रहेको र पक्राउ गर्न आदेश आएकाले नियन्त्रणमा लिएर राखिएको जनाएको छ । उनी विप्लप नेतृत्वको विद्यार्थी संघठनको जिल्ला अध्यक्ष समेत रहेको दावी प्रहरीको छ। ‘पत्रकार भनिएपनि उनी विप्लप नेतृत्वको शक्रिय कार्यकर्ता हुन्, बिप्लपको कार्यक्रमा नाराबाजी गरेको, सहभागी बनेको प्रमाण हामी सँग छ’ डिएसपी बिरेन्द्र थापाले भने ‘चुनावको समयभरी हुन सक्ने अपराधिक क्रियाकलापलाई रोक्न पक्राउ गर्न आदेश आएकाले पक्राउ गरेर मुद्दा चलाएका हौँ।’

भट्टराईले भने पहिले बिप्लप निकट भएपनि अहिले भने छाडेर शक्रिय पत्रकारितामा लागेको दावी गर्छन। पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापाले बिना कारण आशंकाको भरमा पक्राउ गर्नु गलत भएको बताए । ‘गल्ती गरेको भए प्रमाण सहित पक्राउ गर्नुपथ्र्यो, बिना कारण आशंका गरेर पक्राउ गर्नु र झुटा मुद्दा लगाउनु  गम्भिर हो’ अध्यक्ष थापाले भने । पत्रकार महासंघ जिल्ला शाखाले घटनाको निन्दा गर्दै छुटाउन माग गरेको छ । तर दोस्रो चरणको स्थानीय चुनाव सकिएपछि मात्रै छाड्ने तयारी प्रहरीको छ।

 

 

प्रकाशित: १० जेष्ठ २०७४ १०:४९ बुधबार

बिप्लप माओवादीको आरोप पत्रकार दिनदेखि हिरासतमा