राजनीति

माडी नगरपालिकामा माओवादीका ठाकुर ढकाल विजयी

चितवन – चितवनको माडी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल विजयी भएका छन् । उपमेयरमा एमालेका उम्मेद्वार तारा काजीमहतो निर्वाचित भएकी छन् । बिहीबार घोषित अन्तिम मत परिणाममा ढकालले नेपाली काँग्रेसका मेयर पदका उम्मेद्वार खेमप्रसाद महतोलाई ४४ मतले पराजित गरेका हुन् । ढकालले तीन हजार ८७३ मत ल्याए । महतोको तीन हजार ८२९ मत अयो । 

उपमेयरमा विजयी एमालेकी तारा काजी महतोको चार हजार ६९० मत आउँदा एमालेका मेयर पदका उम्मेद्वार नारदमणि पौडेल तेस्रो स्थानमा रही तीन हजार ८२६ मत ल्याए । कुल नौवटा वडाहरु रहेको माडीमा नेपाली काँग्रेसले वडा नम्बर एकमा वडाध्यक्ष जितेको छ । माओवादीले २, ४ र ५ नम्बर वडा जितेको छ । एमालेले ३, ६, ७, ८ र ९ गरी बहुमत वडा जितेको छ । 

माडी नगरपालिका  चितवनको दक्षिणमा पर्ने राष्ट्रिय निकुञ्ज पार गरेर जानु पर्ने नगरपालिका हो । विस २०६२ साल जेठ २३ मा माओवादीले यात्रु बसलाई लक्षित गरेर विष्फोट गराउँदा ३८ जनाको ज्यान गएको बाँदरमुढे पनि माडी मै पर्छ । पहिलो संविधान सभामा माडीसमेत रहेको चितवनको क्षेत्र नम्बर पाँचमा माओवादीको समर्थनमा तत्कालिन जनमोर्चा नेपालका अध्यक्ष अमिक शेरचन विजयी भएका थिए । ढकाल पनि तत्कालिन जनमोर्चाकै नेता हुन् । 

प्रकाशित: ५ जेष्ठ २०७४ ०४:२३ शुक्रबार

माडी नगरपालिकामा माओवादीका ठाकुर ढकाल