कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संसदमा महिला सांसदहरूले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको बताएका छन्।
आज संसद भवनमा आयोजित संसदीय प्रभावकारितामा महिला माननीयहरूको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन । मन्त्री गुरुङले महिला सांसदहरूले दिएका अभिव्यक्ति पुरुषका भन्दा तार्किक र परिष्कृत रहेको बताए।उनले महिलाहरूले विषयको गम्भीरतालाई बुझेर मिहेनतका साथ अभिव्यक्ति दिने गरेको भन्दै प्रशंसा गरे । उनले पुरुष सांसदहरूले बोलेका अभिव्यक्ति पछि हेर्दा पश्चाताप लाग्ने खालको रहेको भन्दै अध्ययनसहित आफ्ना धारणा राख्दा संसदको गरिमा बढ्ने बताए।
मन्त्री गुरुङले संसदमा बोल्दै गर्दा विषयान्तर बढी हुने प्रवृत्ति पनि बढिरहेको बताए । उनले आफू संसदमा तेस्रो पटक आए पनि आफू संसदको विद्यार्थी रहेको धारणा राखे।
प्रकाशित: १५ असार २०८० ११:२६ शुक्रबार