राजनीति

भक्तपुरमा नेमकिपाको चुनाव चिन्ह नभएको मतपत्र

भक्तपुर – नेपाल मजदुर किसान पार्टीको गड मानिएको भक्तपुरमा सो पार्टीको चुनाव चिन्ह नै नभएको मतपत्र फेला परेको छ । चाँगुनारायण नगरपलिका वडा नं ६ नगरकोटमा नेमकिपाको चुनाव चिन्ह मादल नै नभएको मतपत्र फेला परेको हो । 

नगरकोट मतदान केन्द्रमा नेमकिपाको चुनाव चिन्ह नै नभएको एक ठेली मतपत्र भेटिएको हो । एक ठेलीमा सय वटा मतपत्र हुन्छ । 

चाँगुनारायण नगरपलिकाकी निर्वाचन अधिकृत रिन्जा डँगोलले चाँगुनारायण नगरपालिका ६ वडा कार्यालयमा रहेको बुथमा एक ठेली नै मतपत्रमा नेमकिपाको चुनाव चिन्ह नभएको पाइएको जनाइन् । लगभग २० जनाले भोट हालेपछि बिहानै यो कुरा पता लागेको थियो । नेमकिपा समर्थित मतदाता मतदानका लागि भित्र पसेपछि चुनाव चिन्ह नभएको मतपत्र भेटिएको थाहा पाएको नेमकिपाका तर्फबाट चाँंगुनारायण नगरपालिका वडा नं ६ नगरकोटका वडा अध्यक्षका उम्मेदवार कुमार थिगले जनाए । 

घटनापछि पनि मतदान पक्रिया त्यहाँं चालू छ । हाल उक्त मतपत्रलाई प्रयोग नगरी अरु नै मतपत्र चेक जाँच गरी प्रयोगमा ल्याइएको निर्वाचन अधिकृत डंगोलले बताइन् । वडामा दुई हजार सात सय मतदाता रहेका छन् ।

प्रकाशित: ३१ वैशाख २०७४ ०५:५४ आइतबार

भक्तपुरमा नेमकिपाको चुनाव चिन्ह नभएको मतपत्र