राजनीति

मतपेटिका संकलनमा सकस

गोरखाको कासिगाउँस्थित मञ्जुश्री माविमा मतदाता परिचयपत्र लिन आएका सर्वसाधारण ।

वैशाख – गोरखाका दुर्गम गाउँपालिकामा मतपेटिका संकलन गर्न कम्तीमा दुई दिन लाग्ने भएको छ । सदरमुकामबाट तीनदेखि पाँच दिन लगाएर निर्वाचन गराउन पुगेका कर्मचारीले गाउँपालिका केन्द्रसम्म मतपेटिका पुर्याउन कम्तीमा दुई दिन लाग्ने बताएका छन् । मोटर पहुँच नपुगेको र हेलिकप्टर नपाए मतपेटिका संकलनमा सकस हुने कर्मचारीको भनाइ छ।

चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न ३१ मतदान केन्द्रमा मतपेटिकासहित कर्मचारी पुग्न सदरमुकामबाट तीनदेखि पाँच दिन लागेको थियो । ती गाउँपालिकामा मतपेटिका संकलन गर्न दुई दिन लाग्ने खटिएका कर्मचारीले बताएका छन् । मतपेटिका संकलनमा ढिलाइ हुँदा मतगणना पनि ढिलो हुने कर्मचारीको भनाइ छ ।

‘एक मतदान केन्द्रबाट गाउँपालिका केन्द्र पुग्न तीनदिनसम्म पैदल हिँड्नुपर्ने अवस्था छ,’ गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘मतपेटिका संकलन सहज बनाउन हेलिकप्टर माग गरेका छौं तर अहिलेसम्म हेलिकप्टर पाइने संकेत छैन ।’ तिब्बतसँग जोडिएको गोरखाको उत्तरी गाउँ सामागाउँको साम्दो आधारभूत विद्यालय मतदान केन्द्र सबैभन्दा टाढा पर्छ । त्यहाँ निर्वाचन गराउन २२ गते हिँडेका कर्मचारी चार दिन लगाएर केन्द्र पुगेका थिए । बाटोमा जाँदै गर्दा दुईजना कर्मचारी बिरामी परेपछि फर्किएका छन् । स्थानीय कर्मचारीको सहयोगमा निर्वाचन काम सञ्चालन गरिएको उनले बताए ।

‘गोरेटोसमेत नरहेको दुर्गम गाउँमा मतदान केन्द्र पुग्न सर्वसाधारणले घरबाट घन्टौं हिँड्नुपर्ने बाध्यता छ,’ बस्नेतले भने । जिल्लाको माथिल्लो भेगका केन्द्र जान सदरमुकामबाट हिँडेका कर्मचारी आरुघाट गाउँपालिकाको थुमीसम्म मोटरमा र त्यसपछि पैदल हिँडेका थिए ।

निर्वाचनमा खटिएका कर्मचारीका अनुसार सामागाउँबाट गाउँपालिकाको केन्द्र सिर्दीबास आउन झन्डै तीन दिन हिँड्नुपर्छ । त्यस्तै छेकम्पारका मतदान केन्द्रबाट मतपेटिका ल्याउन पनि उति नै समय लाग्छ । धार्चे गाउँपालिकाअन्तर्गतको केरौंजाबाट गाउँपालिकाको केन्द्रसम्म मतपेटिका लैजान डेढ दिन लाग्छ भने कासिगाउँबाट एक दिन लाग्छ ।

कासिगाउँको मञ्जुश्री माविका मतदान अधिकृत धु्रवप्रसाद घिमिरेका अनुसार गाउँपालिकाको केन्द्रमा मतपेटिका सुरक्षित रूपमा पु¥याउन एक दिन लग्छ । ‘मतपेटिका जोगाउन र लैजान निकै समस्या छ’, उनले भने, ‘दुर्गम भएकाले सबै मतदाता मतदानमा सहभागी नहुन पनि सक्छन् ।’ मतदातालाई मतदातापरिचय पत्र लिन आउन पनि समस्या रहेको उनले बातए । ‘परिचयपत्र लिन त एकजना मात्रै आए हुन्छ तर मतदान गर्न घन्टौं हिँडेर आउनुपर्ने बाध्यता छ,’ उनले भने।

स्थानीयका अनुसार सामागाउँ केन्द्रबाट सिर्दिबाससम्म मतपेटिका बोकाएर ल्याइसक्दा सदरमुकाम आसपास गाउँपालिका र नगरपालिकाको निर्वाचन परिणाम आइसक्नेछ ।

‘सवारीसाधनको पहुँच भएको ठाउँको परिणाम आइसक्दा माथिल्लो भेगमा मतपेटिका संकलन हुनेछन्,’ बस्नतेले भने । मतपेटिकाको सुरक्षा र संकलनमा सकस हुने भएपछि हेलिकप्टरको माग गरेको उनले बताए ।
‘गोरखाभन्दा सुगम जिल्लामा रित्तो मतपेटिका ढुवानी गर्न हेलिकप्टर दिइएको छ । हामीले क्षेत्रीय प्रशासन कार्यालय, गृह मन्त्रालयलेदेखि निर्वाचन आयोगसम्म हेलिकप्टर माग्यौं, तर आएन,’ उनले भने, ‘मतपेटिकालगायतका सामग्री कर्मचारीले बोकेरै पु¥याए ।’ प्रशासनले विभिन्न ३१ केन्द्रको मतपेटिका सम्बन्धित गाउँपालिकाको केन्द्रसम्म ढुवानी गर्न हेलिकप्टर आवश्यक परेको भन्दै शुक्रबार पनि पत्राचार गरेको छ ।

निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले गोरखाको उत्तरी भेगमा हेलिकप्टरबाट मतपेटिका संकलन गर्ने तयारी भइरहेको बताएका छन् । शुक्रबार पोखरामा पत्रकारसँग पौडेलले गोरखाको माथिल्लो भेगबाट मतपेटिका संकलन गर्न अप्ठ्यारो रहेको र हेलिकप्टर प्रयोग गर्ने बारे कुरा भइरहेको बताए ।

मोटर पुग्दा मनाङ र मुस्ताङमा सहज
हिमाली जिल्ला मनाङ र मुस्ताङमा मोटरको पहुँच पुगेकाले यसपटक विगतभन्दा निर्वाचन सहज बनेको छ । मतदाता केही घन्टा हिँडेर मतदान गर्न जानुपरे पनि मतपेटिका पु¥याउन र मतदानपछि गाउँपालिका केन्द्रसम्म मतपेटिका ओसार्न मोटर पहुँचले सहज बनाएको छ । मनाङ र मुस्ताङमा प्राकृतिकबाहेक भौगोलिक समस्या कम भएको अधिकारीहरूले बताएका छन् ।

मनाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जिल्लाको सबैभन्दा दुर्गम नार–फु गाउँपालिकामा निर्विरोध भएकाले केही सहज भएको बताए । ‘मनाङको सबैभन्दा दुर्गम नार–फु गाउँपालिका हो तर त्यहाँ निर्विरोध भएकोले तनाव केही कम भएको छ,’ उनले भने, ‘अन्यत्र उतिसारो समस्या छैन ।’ मतदानस्थलबाट गाउँपालिका केन्द्रसम्म मतपेटिका ल्याउन बढीमा दुईघन्टा लाग्ने र सबै ठाउँबाट मोटरमा केन्द्रसम्म मतपेटिका बटुल्न गाडी तयार पारेको उनले बताए ।

मनाङमा नार–फुबाहेक चामे, नासोङ र नेस्याङ गाउँपालिका छन् । ती सबै गाउँपालिकाअन्तर्गतका मतदानस्थलबाट केन्द्रसम्म मतपेटिका ल्याउन बढीमा दुई घन्टा लाग्ने प्रजिअ भण्डारीले बताए । ‘मोटरबाटोले मतपेटिका संकलनमा खासै समस्या छैन,’ उनले भने, ‘अघिल्ला निर्वाचनमा मोटरको पहुँच पुगिसकेको थिएन । अहिले सबैजसो गाउँपालिकाका केन्द्रसम्मै मोटर पुगिसकेको छ ।’

उनका अनुसार हिमाली जिल्ला भएकाले मनाङको कुनै पनि गाउँमा जतिबेला पनि हिमपात हुन सक्छ । प्राकृतिक विपद्लाई कसैले रोक्न नसक्ने भए पनि त्यसबाट सतर्क भएर सबै तयारी गरिएको उनले बताए । मनाङमा पाँच हजार ९५ मतदाता छन । तीमध्ये २५ सय ९९ जना महिला र बाँकी पुरुष छन् । चामेमा पाँच, नासोङ र नेस्याङमा ९–९ वटाका दरले २३ वटा मतदानस्थल रहेको उनले बताए ।

हिमालपारीकै अर्काे जिल्ला मुस्ताङमा पनि मोटरबाटोको पहुँचले गाउँपालिका केन्द्रसम्म पुग्न अप्ठ्यारो नरहेको प्रमुख जिल्ला अधिकारी भीमराज पोखरेलले बताए । उनका अनुसार कर्मचारी र सुरक्षाकर्मी कुनै अप्ठ्यारोबिनै मतदानस्थलमा पुगिसकेका छन् । मुस्ताङमा सबैभन्दा टाढा पर्ने साङटाबाट समेत ट्रयाक्टरबाट मतपेटिका ढुवानी गर्ने व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । ‘सबैतिर मोटर पुगेको छ । त्यसैले पहिलेभन्दा सहज भएको छ,’ उनले भने, ‘प्राकृतिक विपद् नआए हेलिकप्टर चाहिँदैन ।’

जिल्ला निर्वाचन अधिकारी सीताराम लामिछानेका अनुसार पाँचवटा गाउँपालिका रहेको मुस्ताङमा आठ हजार चार सय ६१ जना मतदाता छन् । ‘मतदानस्थलमा पुग्न मतदाताले बढीमा दुई घन्टा हिँडे पुग्छ,’ अधिकारीले भने, ‘त्यही भएर मतपेटिका बटुल्न पनि अप्ठ्यारो छैन ।’ उनका अनुसार मुस्ताङमा अघिल्ला निर्वाचनमा ३२ वटा मतदानस्थल थिए । मतदानस्थल टाढा हुँदा मतादाताले धेरै हिँड्नुपर्दथ्यो । त्यो समस्या आउन नदिन यसपटक पाँचवटा मतदातस्थल थपेर ३७ पुर्याइएको छ ।

 

प्रकाशित: ३० वैशाख २०७४ ०२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App