राजनीति

जसपा नभएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएनः अध्यक्ष यादव

फाइल तस्बिर

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता समस्या नेपालमा कहिले पनि समाधान नहुने दाबी गरेका छन्।

आइतबार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नभएको भए नागरिकता समस्या कहिले हल नहुने दाबी गरेका हुन्।

त्यस्तै आफ्नो पार्टी नभएको भए देशमा संघीयता पनि नआउने उनको दाबी छ। उनले वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्ने पक्षमा आफूहरु रहेको बताए।

उनले भने, ‘हामी चाहान्छौँ, यो सरकार निरन्तर आफ्नो समयसम्म रहोस्। र यो गठबन्धन अगाडी बढुन्। र सरकारले डेलिभरी दिनुपर्छ जनतालाई। परिवर्तनको नेतृत्व सरकारले गर्नुपर्छ। बाटो खोल्नुपर्छ। यद्यपी अहिले आएको बजेटले जनतालाई निकै निराश तुल्याएको छ। सबभन्दा पछि परेका कर्णाली प्रदेश, मधेस प्रदेशका जनतालाई बढी निरुत्साहित बनाएको छ। देशको आर्थिक व्यवस्थालाई सुदृढ गर्दै अर्थतन्त्रलाई गति दिने खालको बजेट नआएकोले पनि जनता निराश छन्। यसलाई सच्याउँ, सुधारौँ भन्दैछौँ हामी। सरकारलाई निरन्तर अगाडी बढाउँ। तर सरकारको दायित्व जनताको राहत दिने, जनताका हितमा काम गर्ने र मुलुकको अर्थतन्त्रलाई अगाडी बढाउने, गरिबी र बेरोजगारीबाट मुक्ति दिलाउने र जनताको आवाजलाई सुन्नुपर्छ। अहिले जनता समाजवादी पार्टी नभइदिएको भए नागरिकता समस्या नेपालमा कहिलेपनि हल हुने थिएन। जनता समाजवादी पार्टी नभए नेपालमा संघीयता कहिले आउने थिएन। हिजोको मधेशी जनाधिकार फोरम भनेको आजको जनता समाजवादी पार्टी हो। यदी जनता समाजवादी पार्टी नभएको भए धर्म निरपेक्षता, समावेशिता जस्ता कल्पनाका कुरा हुने थिए।’

अध्यक्ष यादवले देशको शासकीय स्वरुप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने बताए। उनले निर्वाचन प्रणालीपनि खर्चिलो भएको भन्दै यसको पनि परिवर्तन गर्नुपर्ने बताए। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक संसदको व्यवस्था गर्नुपर्नेमा जोड दिए।  

प्रकाशित: १० असार २०८० १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App