राजनीति

राप्रपासँगको तालमेललाई नौलोरुपमा नहेरौं: योगेश भट्टराई

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले सत्तारुढ दलले अघि सारेको संविधान संशोधन प्रस्ताव र प्रधानन्यायाधीश सुशिला कार्कीविरुद्ध ल्याईएको महाअभियोग प्रस्ताव दुवै फिर्ता लिनु पर्ने बताएका छन्।

रिपोर्टस क्लवमा बोल्दै उनले भने,‘प्रचण्ड सरकारले बुद्धि पुर्याउँछ भने यो संशोधन विद्येयक फिर्ता लिनुपर्छ, अब संशोधन प्रस्तावको औचित्य छैन, किनकी देश निर्वाचनमा होमिइसकेको छ, अब पनि संसद खरिद बिक्री गरेर बस्ने बेला होईन।’

भट्टराईले काँग्रेसको कामकारबाही जनहितमा नभएको समेत आरोप लगाए। उनले भने,‘काँग्रेस फेरि पनि तीनैको हातमा गयो, जसले ०५१ सालमा संसद किनबेच गर्ने काम गर्यो, हाम्रो देश पछि पर्नुको प्रमुख कारण नै काँग्रेसले लिएको अस्थिर नीति हो, र कमजोर नेतृत्व हो।’

काँग्रेसले गतिलो नीति लिएको भए नेपाली युवाहरु आज लाखौंको संख्यामा खाँडी मुलुक जानुपर्ने बाध्यता आउँदैन्थ्यो भनेर उनले चिन्ता समेत औंल्याए । उनले भने,‘हाम्रो देशमा भएका त्यत्रा उद्योगधन्दाहरु कहाँ पुगे ? खोई बाँसबारी छाला जुत्ता, हेटौंडा सिमेन्ट कहाँ पुग्यो? जनकपुर चुरोट कारखाना कहाँ पुग्यो ?यी सबै उद्योगधन्दा र कलकारखाना काँग्रेसले कौडीको नाममा बेचेर खाएको हो।’

उनले एमालेको सुदृढ संगठन, बलियो जनाधार र एकताबद्ध नेतृत्व र सबल राख्नको लागि यो चुनाव आफ्नो पार्टीले नै जित्ने बलियो आधार पेश गरे। उनले भने,‘हामी यो चुनाव ६० प्रतिशत भन्दा ज्यादा केन्द्रहरुमा विजयी हुन्छौं, किनकी हामीले लोकप्रिय नेताहरुको उम्मेद्धवारी दिएका छौं, हामीले तालमेल पनि गरेका छौं।’

उनले राप्रपासँग पार्टीले चुनावी तालमेल गरेको विषयलाई नौलो विषयको रुपमा नहेर्न समेत आग्रह गरे। भट्टराईले थपे,‘कमल थापा सबैको नेतृत्व रहेको सरकारमा सहभागी हुनुभएको छ, ओलीजीसँग पनि हुनुभएको छ, क्रान्तिकारी पार्टी माओवादी अध्यक्ष प्रचण्डको नतृत्वमा पनि मन्त्री बन्नुभएको छ, यो नौलो कुरा होईन।’ उनले स्थानीय तथा राष्ट्रिय आवश्यकताले गर्दा एमालेले चुनावी तालमेल गरेको स्पष्ट पारे।

प्रकाशित: २० वैशाख २०७४ १०:४८ बुधबार

राप्रपासँगको तालमेललाई नौलोरुपमा नहेरौं योगेश भट्टराई