राजनीति

सिन्धुलीमा को को भए उम्मेदवार ?

सिन्धुली– सिन्धुलीको कमलामाई नगरपालिकामा उत्साहजन रुपमा मनोनयन दर्ता भएको छ। नेपाली काँग्रेस नेकपा एमाले र नेकपा माओवादी केन्द्रले ठूलो र्यालीसहित बजार परिक्रममा गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गराएका हुन्।

को को भए उम्मेद्वार ?

कमलामाई नगरपालिका
नेपाली काँग्रेसबाट मेयरः उपेन्द्र पोखरेल, उपमेयरः सुशिला थिङ

लामो समयको कसरत पछि सोमबार बिहानबाट नेपाली काँग्रेसको केन्द्रिय समितिले काँग्रेसका नेता उपेन्द्र पोखरेललाई सिन्धुलीको कमलामाई नगरपालिकाको मेयर पदको उम्मेदवार बनाएपछि काँग्रेसमा रौनक छाएको थियो । रौनक सँगै मंगलबार नेकपा एमाले र नेकपा माओवादीले मनोनयन दर्ता गरेसँपछि अन्तिममा नेपाली काँग्रेसको तर्फबाट उनले पोखरेलले मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । विद्यार्थी राजनीतिबाट काँग्रेसको राजनीति सुरु गरेका पोखरेल नेपाली काँग्रेसको पुर्व जिल्ला सचिव हुन् ।

नेपाली काँग्रेस केन्द्रीय समितिले जिल्लाको चर्चित कमलामाई नगरपालिकामा महिला नेतृ सुशीला थिङलाई उपमेयरको उम्मेदवार बनाएको छ । शिक्षक पेशाबाट राजनीतिमा आएकी थिङले मंगलबारमात्रै राजीनामा दिएर उपमेयरको उम्मेदवारी दर्ता गराएकी हुन् ।

नेकपा एमालेबाटः मेयर खड्ग खत्री, उपमेयरः मञ्जु देवकोटा

सिन्धुलीको कमलामाई नगरपालिकामा नेकपा एमालेका तर्फबाट खड्ग खत्रीले मेयर पदका लागि उम्मेदवारी दिएका छन् । पार्टीमा प्रभावशाली नेताका रुपमा चिनिएका खत्रीले दोस्रो संविधान सभामा सिन्धुली क्षेत्र नं. २ मा उम्मेदवारको आकाक्षा देखाएपनि उनले टिकट पाएका थिएनन् ।

एमालले कमलामाई नगरपालिकामा उपमेयरमा मञ्जु देवकोटाको उम्मेदवारी दिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गएर देवकोटाले उपमेयरमा उम्मेदवारी दिएकी हुन् ।

नेकपा माओवादी केन्द्रबाटः मेयरः सावित्री पाण्डे(गजुरेल), उपमेयरः सावित्रा श्रेष्ठ

नेकपा माओवादी केन्द्रले सावीत्री पाण्डेलाई मेयर पदमा उम्मेदवारी मनोनयन गराएको छ । पाण्डे पुर्व मन्त्री हरिबोल गजुरेलकी धर्मपत्नी हुन् । राजनीतिमा धेरै चर्चित नभएपनि जिल्लाको मुख्य बजार क्षेत्र रहेको कमलामाई नगरपालिकामा माओवादी केन्द्रले मेयरमा उठाएको छ ।

बेपत्ता परिवारकी सावित्रा श्रेष्ठ सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता गराएकी छन् । राज्यद्धारा बेपत्ता पारिएका माओवादी नेता चित्रनारायण श्रेष्ठकी धर्मपत्नी सावित्राले माओवादी केन्द्रको तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

दुधौली नगरपालिका

दुधौली नगरपालिकामा नेपाली काँग्रेसकी प्रभावशाली महिला नेतृ गङगा दाहाललाई नेपाली काँग्रेसले मेयरको टिकट दिएपछि मंगलबार उम्मेदवारी दर्ता गराएकी छन् । जिल्लामा एनजिओ चलाउँदै राजनीति गर्दै आएकी दाहाल नेपाल महिला संघकी जिल्ला सभापति हुन् । यस्तै काँग्रेसले दुधौली नगरपालिकाको उपमेयरमा चेतनारायण अधिकारी दनुवारलाई उम्मेदवारी बनाएको छ ।

यसैगरि नेकपा एमालले स्थानिय नेता घनश्याम राउतलाई मेयरको उम्मेदवार बनाएपछि सोही अनुसार निर्वाचन अधिकृतको कार्यालयमा दर्ता भएको छ । बालकुमारी अधिकारीलाई एमालले उपमेयर बनाएको छ ।

नेकपा माओवादीले भने दिनेश अधिकारी दनुवारलाई मेयर पदको उम्मेदवार बनाएको छ । दनुवार यसअघि दुधौली नगरपालिकाका कर्मचारी थिए । उनले कर्मचारीबाट राजीनामा दिएर राजनीतिमा आएका हुन् । उपमेयरमा इन्दिरा काफ्लेको उम्मेदवारी दर्ता भएको छ ।

यसबाहेक जिल्लामा नेपाल परीवार दल र राप्रपाले पनि मनोनयन दर्ता गराएका छन् । बिहान १० बजेबाटै मनोनयन दर्ता खुल्ला गरिए पनि दलहरुले दिउँसो १ बजेबाट मात्र उम्मेदवारी दर्ता गराउन सुरु गरेकाले साँझ अबेरसम्म उम्मेदवारी दर्ता गराइएको जनाइएको छ ।

दुधौलीमा भने काँग्रेस एमाले माओवादी केन्द्र संघीय समाजवादी परीवार दल र स्वतन्त्र १ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत नुरहरी खतिवडाले जानकारी दिए । अबेरबाट सुरु भएकाले साझसम्म दर्ता प्रक्रिया चलेको उनले जनाए ।

 

प्रकाशित: १९ वैशाख २०७४ १२:४७ मंगलबार

सिन्धुलीमा को को भए उम्मेदवार