राजनीति

किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग

नेकपा (एमाले)की सांसद जुलीकुमारी महतोले किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छिन्।

बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शुन्य समयमा बोल्दै उनले रोपाइँ सुरु हुँदा पनि मलको व्यवस्था गर्नुपर्छ भन्ने कुरामा ध्यान दिन नसकेको भन्दै सरकारको आलोचना समेत गरे। सांसद महतोले विभिन्न रोगव्याधिहरु फैल्ने अवस्था आएकाले त्यसको नियन्त्रणका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराए। उनले भनिन्, ‘नयाँ शैक्षिक सत्र सूरु भयो । विद्यार्थीलाई पुस्तक छैन । किसानको रोपाई सुरु भयो। मल छैन। महंगीले ढाड सेक्यो, नागरिकलाई बाँच्ने आधार छैन। हत्या, हिंसाले त्रास बढाएको छ। न्याय पाउने आश छैन। रोजगारीका लागि विदेश जानुपर्ने राज्यले नसोच्ने। सरकार कहाँ छ ? सभामुख महोदय। यसमा ध्यान दिन म सरकारसँग माग गर्दछु।’

सांसद महतोले युवाहरु रोजगारीका लागि विदेशिने क्रम बढ्दा पनि सरकारले उनीहरुलाई स्वेदशमै रोजगारीको अवसर दिने कुरामा कुनै सोचाई नराखेको भन्दै आक्रोश व्यक्त गरिन्।

प्रकाशित: ६ असार २०८० ०८:०६ बुधबार

किसानलाई मल र विद्यार्थीहरुलाई पाठ्यपुस्तक तत्काल उपलब्ध गराउन माग