राजनीति

रिपोर्टर डायरी: नगर प्रमुख दिपेशको अभद्र व्यवहार

शून्य शहलसिलता र जनताको सेवा गर्न मन्त्री मोदीले सुझाब दिदै गर्दा मोबाइल चलाउँदै नगर प्रमुख दिपेश।

राजापुर नगरपालिका स्थित राजापुर कटेजमा संघिय मामिला मन्त्री अमनलाल मोदी र कार्यकर्ताका लागि नगर प्रमुख दिपेश चौधरीले दिवा भोजको कार्यक्रम आयोजना गरेका रहेछन्।

दिवा भोजको कार्यक्रम आयोजना गरिने खबर प्राप्त गरेपछि म पनि मंगलवार दिउँसो समाचार संकलनका लागि सदरमुकाम गुलरिया देखि राजापुर कटेज पुगेको थिए।

जनताले तिरेको करको पैसा भोज भतेरमा नगरपालिकाले किन खर्च गरेको होला भन्ने प्रश्न मनमा उब्जिनु समाचार खोज्न हिँडेको एक पत्रकारलाई स्वाभाविक पनि हो।

सिकलसेल दिवसको कार्यक्रम सकेर त्यहाँ पुगेका मन्त्री मोदी असिनपसिन थिए। कटेजको हलमा रहेको एसीनजिक सुस्ताउँदै बसिरहेको देखेँ। मन्त्रीसँग नागरिक उन्मुक्ति पाटीका लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री धर्मराज चौधरी, माओवादी नेता सुरेश पन्थ, प्रदेश सांसद कृष्णा केसीहरू एउटै पङ्क्तिमा बसेका थिए।

राजापुर कटेज हलमा मन्त्रीको सम्बोधन कार्यक्रमबारे जानकारी गराएर माओवादी नेताले मलाई हलभित्र बोलाए। मलाई देख्नेबित्तिकै औंला ठ्याउँदै ओठ र मुख कपाउँदै नगर प्रमुख दिपेश चौधरीले पटक पटक भने, ‘फटाहा पत्रकार !  यहाँ किन आएको ?’

यसरी प्रश्न गर्दै गर्दा म हलभित्र पसें। समाचार लेख्दा कुराकानी नगरेको झुटो आरोप लगाउँदै नगर प्रमुख समग्र पत्रकारतर्फ गालीगलौजमा उत्रिँदा मन्त्री मोदीले सुने नसुने झैं गरे। नागरिक उन्मुक्ति पार्टीका प्रदेशमन्त्री धर्मराज नगर प्रमुख दिपेशले मप्रति गरेको अभद्र व्यवहार नियालिरहेका थिए।

मन्त्री सुरक्षार्थ खटिएका प्रहरीका डिएसपी प्रकाश सापकोटाले मेयरसँग टसल लिनु राम्रो नभएको भन्दै उल्टै मलाई सम्झाउन खोजे। 

नगर प्रमुख दिपेशले दोहोर्‍याउँदै फेरि भने, ‘राजापुर किन आएको ? जे समाचार लेखे पनि मलाई केही फरक पर्नेवाला छैन।’

मैलै सहज जवाफ दिँदै भनें, ‘नरिसाउनुस् न मेयर साब, यो ठाउँ तपाईंको मात्र होइन, मेरो पनि हो, समाचारप्रति चित्त नबुझेको भए कानुनी उपचार खोज्नुस’ नगर प्रमुख दिपेशको व्यवहारले जनता र नगरपालिकाका कर्मचारी आंतकित भएको उल्लेख गर्दै नगर प्रमुखको गतिविधि अक्षम्य भएको भन्दै अन्य नेताले मलाई सम्झाए।

बर्दिया निर्वाचन क्षेत्र नं २ राजापुर र गेरुवा गढ मानिन्छ। भर्खरै तीन तहको चुनावमा माओवादी पराजय हुनुलाई प्रदेश सांसद हुँदा हुँदै नगर प्रमुखको टिकट दिपेशलाई दिनुले माओवादीमा फुट ल्याउँदा माओवादी गढमा कमजोर सावित भएको भर्खरै सम्पन्न निर्वाचनले पुष्टि गरिसकेको छ । वर्तमान नगर प्रमुख दिपेशको व्यवहार सहन नसक्दा पूर्व नगर प्रमुख शिव चौधरी लगायत तीन सयले पाटी परित्याग गरिसकेका छन्।

संघीय चुनावमा पार्टी नेतालाई हराउन द्वैध चरित्र देखाएको नगर प्रमुख दिपेशमाथि आरोप छ। राजापुर क्षेत्रमा माओवादीका लोकप्रिय नेता हुँदाहुँदै टिकट खोसेर झिनो मत (४७) ले दिपेशले चुनाव जितेपछि उनले कर्मचारी र जनतालाई तारो बनाए। उनी प्रदेश सांसद हुँदा कर्णाली आयोजना प्रमुखमा पटक पटक एउटै मान्छे ल्याएर आयोजनाको स्रोतसाधन दुरूपयोग गर्ने नेतामध्येमा पर्छन्।

नगर प्रमुख दिपेशले शपथ खाएलगत्तै नियम मिचेर कर्मचारी सरुवा तथा भर्ना, विकास बजेट दुरूपयोग, मनपर्दी निर्णय र पहुँचका भरमा ३४ औं दिनमा प्रमुख प्रशासकीय अधिकृत डिल्ली भट्टराईलाई हटाएर महेन्द्र जंग शाहीलाई नियुक्ति गरेका थिए। यीसहित विवादित अन्य विषयमा प्रकाशित समाचारलाई लिएर उनले सार्वजनिक रूपमा रोष प्रकट गर्दै आएका थिए।

प्रकाशित: ६ असार २०८० ०२:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App