राजनीति

बजेट रहरको दाल कि गहत !

फाइल तस्बिर

प्रतिनिधिसभाको बैठकमा रहर दाल र गहत दालको चर्चा आगामी आर्थिक वर्षको बजेटसँग जोडेर गरिएको छ। प्रतिपक्षी सांसदले ‘अहिलेको बजेट गहतको दालजस्तो भएको तर सरकारले रहरको दाल भनिरहेको’टिप्पणी गरे। तर सत्तापक्षका सांसदहरूले गहतको महत्व बढेकाले यसतर्फ पनि ध्यान दिनुपर्ने भन्दै व्यंग्य गरेका थिए।  

प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०-८१ को बजेटमाथिको छलफलका क्रममा एमालेका सांसद रघुजी पन्तले ‘दाल केको गहतको, बजेट कसको महतको’भनेर व्यंग गरे। उनले यो बजेट गहतको दालजस्तै भएको तर रहरको दाल भनेर प्रचार गरेको भनेपछि सत्तापक्षका सांसदले आपत्ति जनाए। शुक्रबारको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले भने, ‘रहरको दाल र गहतको दालका बारेमा कुरा चल्यो। हामीलाई विश्वास छ। अहिले गहतका लागि मान्छेहरू खोजीखोजी धाउने अवस्था छ। त्यो अवस्था सिर्जना होस् र गहतको महत्व पनि बुझ्ने अवसर प्रदान होस् भनेर अनुरोध गर्न चाहन्छु।’  

रघुजी पन्तको भनाइलाई माओवादी केन्द्रका सांसद सूर्यमान तामाङ (दोङ) ले पनि असहमति जनाए। ‘रहरको झोलभन्दा गहतको झोल मीठो मानिन्छ। किनकि स्वास्थ्यका हिसाबले पनि स्वस्थकर छ भन्ने लाग्छ। हामी नेपाली त्यस्ता (रहरका दाल) खालका खानेकुरा खाएर किड्नीमा पत्थर जमेको छ। त्यसकारणले गहतको झोलले औषधि गर्छ,’ उनले भने, ‘त्यो औषधि खाँदा उपयोग होला भन्ने लाग्छ मलाई। त्यसकारण औषधि खाऔं। तपाईंहरूले गहतको झोलको कुरा गर्नुभएको छ। एकदम राम्रो कुरा राख्नुभएको छ, त्यसकारण अर्थमन्त्रीले पनि यो विषय ग्रहण गर्नुपर्छ भन्ने लाग्छ।’

एमालेका रघुजी पन्तले रामशरण महत अर्थमन्त्री हुँदा बजेट कस्तो छ भनेर सोध्दा साथीले ‘दाल केको गहतको, बजेट कसको महतको’भनेको र आफूले यसको अर्थ पछि बुझेको भन्दै संसद्मा यो बजेट पनि गहतको झोल नै भएको टिप्पणी गरेका थिए। एक हुनेखानेको घरमा रहरको दालसँग रोटी खाने गरेको तर गरिबका छोराछोरीले गहतको दालसँग रोटी खाने गरेको उनले बताए। धनीले रहरको दाल खाएको देखेर गरिबका छोराछोरीले रहरको दाल खान माग गरेको तर आमाले गहतको दाललाई नै रहरको दाल भनेर खुवाएको जस्तै अर्थमन्त्रीले पनि यो बजेटलाई रहरको दाल नै भनेको पन्तले बताए। उनले प्रधानमन्त्री र अर्थमन्त्रीलाई लर्के जोवन आएको भनेर व्यंग्य पनि गरे। ‘लर्के जोवन गएन माया नलाई भएन’ भन्दै चौतारीमा मायालु दुईजना बसेको भनेजस्तै बजेट नुवाकोट, गोरखा र डडेलधुरामा घोप्ट्याएको आरोप उनले लगाए। ‘तर प्रतिपक्षी दल यसमा क्लियर’ छौं,’ उनले भने, ‘यो बजेटमा ४ खर्ब घाटा छ। यो कसरी पूर्ति गर्ने ? तोरीको तेल, प्याजमा पनि महँगी बढेको छ।’  

एमालेका सांसद रघुजी पन्तले बजेट गहतको दालजस्तै भएको तर रहरको दाल भनेर प्रचार गरेको भनेपछि सत्तापक्षका सांसदले आपत्ति जनाए। 

विगतमा ‘जात फाल्नु गहतको झोल’मा भन्ने परम्परावादी उखान प्रचलनमा थियो। जातीय भेदभाव जनाउने हुँदा अहिले यो उखान त्यति प्रयोग गरिन्न। तर गहत पोषक र गुणकारी खाद्य हो। आयुर्वेदमा यो दाललाई मूत्रसम्बन्धी विकार र पत्थरी रोग हटाउन विशेष उपयोगी मानिएको छ। पत्थरीलाई फुटाएर मूत्रनलीबाट बाहिर निकाल्न गहत प्रसिद्घ औषधि पनि हो। तर यसको प्रयोग उचित मात्रा र युक्तिपूर्वक गर्नुपर्छ। वर्तमान अवस्थामा गहतको माग बढिरहेको छ।

यता दालहरूमा अधिकांश मानिसहरूले खाने रहर दाललाई सबभन्दा उत्तम मानिन्छ। पकाउन सजिलो भएसँगै शरीरलाई चाहिने पोषक तत्वहरू प्रशस्त पाइने हुँदा अरू दालको तुलनामा रहर दालको अलि बढी प्रयोग गरिन्छ। रहरको दालको नियमित सेवनले हाम्रो रगतलाई सफा गर्ने, हड्डी तथा मांसपेशीलाई मजबुत राख्ने काम गर्छ। यसबाट के देखिन्छ भने गहतको झोल खाए पनि रहरको झोल खाए पनि शरीरलाई फाइदा हुने हुँदा सांसदहरूले बजेटसँग जोडेर तिनलाई उदाहरण बनाउनु सामन्तवादी सोच भएको एक विशेषज्ञले बताए। खाद्य पदार्थको पनि आआफ्नै महत्व छ। तर यसलाई सामान्तवादी सोंचबाट विभेद गरियो भने त्यसले मुलुकको अहित मात्र गर्दैन, उनीहरूको स्वास्थ्यलाई पनि गम्भीर असर पुर्याउँछ।

प्रकाशित: २७ जेष्ठ २०८० ०१:१८ शनिबार

बजेट रहरको दाल कि गहत !