राजनीति

नेता खनालमाथि आक्रमण प्रयास

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा जान लागेको अघिल्लो दिन कम्युनिस्ट पार्टीका नेतामाथि आक्रमण प्रयास गरिएको छ। पुराना कम्युनिस्ट नेता साध्य बहादुर भण्डारीले आयोजना गरेको एक कार्यक्रममा मंगलबार दिउँसो नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहितका कम्युनिस्ट नेतामाथि आक्रमण प्रयास भएको हो।

भारतले हालै प्रकाशित गरेको नक्सामा नेपालको भूमि समेटिएको र त्यसबारेमा प्रधानमन्त्रीले भारतसँग जानकारी लिनुपर्ने तथा प्रधानमन्त्रीले भ्रमणका बेला उठाउनुपर्ने विषयबारे छलफल गर्न आयोजित कार्यक्रममा उनीमाथि आक्रमण प्रयास भएको नेकपा समाजावादीका नेता कार्यकर्ताहरूले जनाएका छन्।  

कम्युनिस्ट नेता साध्य बहादुर भण्डारीले मंगलबार अनामनगरमा राखेको त्यो कार्यक्रममा राजावादीहरूको घुसपैठ भएको र नेता खनाललाई गालीगलौज गर्नुका साथै आक्रमण प्रयास गरेका थिए। भारतले नेपालका भूभाग समेटेर बनाएको नक्साको विरोध गर्न तथा नागरिकता विधेयक प्रमाणीकरण नगर्न राष्ट्रपतिलाई दबाब दिने उद्देश्यले आयोजित कार्यक्रममा मुख्य वक्ताका रूपमा निम्त्याइएका थिए। खनालमाथि आक्रण प्रयास हुँदा सुरक्षा गार्डलाई समेत जोगाउन कठिन भएको थियो।

त्यसक्रममा हुलदंगा र नाराबाजी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेर महानगरीय प्रहरी परिसरको कार्यालय, नेपाल पुलिस क्लबमा राखेको छ। मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा एकजना युवाले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गरेका थिए। त्यसपछि उनीहरूले सामूहिक रूपमा नाराबाजी गर्दे आक्रमण प्रयास गरेका हुन्।

कार्यक्रममा झलनाथ खनाल, नेकपा क्रान्तिकारी (माओवादी) सिपी गजुरेल र पूर्व गभर्नर डा.दिपेन्द्र क्षेत्री सहभागी थिए।

प्रकाशित: १८ जेष्ठ २०८० ०१:५३ बिहीबार

नेता खनालमाथि आक्रमण प्रयास