राजनीति

नागरिकता बिधेयक राष्ट्रपतिले तत्काल प्रमाणिकरण गर्नुपर्छः निधि

नेपाली काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता बिधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणिकरण गर्नुपर्ने बताएका छन्।  

बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उनले सो विधेयक राष्ट्रपति पौडेललाई प्रमाणिकरण गर्नका लागि संविधान र कानुनी रुपमा कुनै पनि बाधा अडचन नभएको दावी समेत गरे। उनले संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको सो विधेयक प्रमाणिकरणका लागि आवश्यक सक्रियता देखाउन सरकारलाई पनि सुझाव दिए।

नेता निधिले भने, ‘आजको समाचार पत्रहरुमा सम्माननीय राष्ट्रपतिजीका, सम्माननीय प्रधानमन्त्री र मन्त्रीजीहरुको बीचमा नागरिकता विधेयक प्रमाणिकरण गर्ने विषयमा छलफल भएको समाचारहरु सुन्यौं। यो नागरिकता विधेयक प्रमाणिकरण गर्नका लागि कानुनी तथा संवैधानिक आधारहरु खोज्नु भएको छ अरे भनेर सुनेको छु। म सभामुखमार्फत सरकारको के ध्यानाकर्षण गराउन चाहन्छु भने र यो संसदमा प्रतिपक्षका सांसदहरुले पनि बोल्नु भएको छ। राष्ट्रपतिको सल्लाहकार भनेको प्रधानमन्त्री र मन्त्रीपरिषद नै हुन्छ। अव त्यो संसदबाट दुईदुई पटक पारित भएर गएको विधेयक संसदमा फिर्ता आउनु हुँदैन। र, त्यहीँबाट प्रमाणित नै हुनुपर्दछ। मन्त्रीपरिषदले नै निर्णय गरेर राष्ट्रपतिजीलाई सल्लाह गरेर कुनै बाधा छ भने त्यो पनि फुकाउनु परेन। यो संविधानसम्मत कुरा नै हो। त्यसकारण नागरिकता विधेयक तत्काल प्रमाणित गर्न लगाउने कुरामा सरकार चाँही सम्पूर्ण रुपमा सक्रिय भईदिनु प¥यो भन्ने कुरा राख्न चाहन्छु।’

नेता निधिले संघीय संसदले दुई दुई पटक पारित गरेर पठाएको सो विधेयक फेरी संसदमा आउन नहुने समेत बताए।

प्रकाशित: १० जेष्ठ २०८० ०६:३२ बुधबार

नागरिकता बिधेयक राष्ट्रपतिले तत्काल प्रमाणिकरण गर्नुपर्छः निधि