राजनीति

संविधान कार्यान्वयनमा लफडा नगरौंः एमाले नेताहरु

दाङ– मेची–महाकाली अभियानमा रहेको नेकपा एमालेले सोमबार दाङमा सभा गरेको छ। सभालाई अध्यक्ष केपी ओलीबाहेकका शीर्ष नेताहरुले सम्वोधन गरेका थिए। उक्त सभामा ओलीको पनि सहभागिता रहने प्रचार गरिए पनि ओली सहभागी भएनन्। 

उनी लमहीको समभा छोडेर काठमाडौँ फर्किएको बताइएको छ। सभामा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम लगाएतका नेताहरुले सम्वोधन गरेका थिए। उनिहरुले संविधान कार्यान्वयनका लागि सबै पक्ष एक ठाउँमा उभिनु पर्नेमा जोड दिए । ‘संविधान कार्यान्वयन अहिलेको मुख्य कार्यभार हो,’ बरिष्ठ नेता खनालले भने ‘यसका लागि सबै पक्ष गम्भीर बन्नु जरुरी छ।’

वर्तमान सरकारबाट समस्या समाधानको उपाय निस्कन नसक्ने भन्दै उनले यो सरकारको औचित्य समाप्त भैसकेको दाबी समेत गरे । ‘अहिलेको समस्याको समाधान यो सरकारबाट हुन सक्दैन,’ उनले भने । 

यस्तै नेता माधवकुमार नेपालले एमालेलाई देखेर आत्तिएका शक्तिहरुले एमालेमाथि आक्रमण गर्न खोजिरहेको आरोप लगाए। उनले त्यसैको परिणाम राजवीराज घट्टा भएको बताए। ‘एमालेको सफलता देखेर रिस गर्नेहरुबाट राजवीराजको घटना हुन पुगेको हो,’ उनले भने, ‘तर एमाले यस्ता घटनाहरुबाट कत्ति पनि विचलित छैन। र, बन्दैन पनि।’ एमालेलाई ‘एकै चिहान’ बनाउने नियोजित षडयन्त्रका कारण उक्त घटना हुन पुगेको बताएका उनले प्रहरीले एमालेका नेताहरुको सुरक्षा गर्दा गोली चलेको पनि बताए। 

यस्तै, उपाध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयनको सवालमा सबै पक्ष एकजुट हुन जरुरी रहेको बताए। ‘जसरी पनि कार्यान्वयनमा ल्याउँ, लफडा नगरौँ,’ उनले भने, ‘सबै असन्तुष्टिलाई सम्बोधन हुने वातावरण निर्माण गरौँ।’ सभामा एमालेले सैयौँ कार्यकर्ता उतारेको थियो। 

 

प्रकाशित: ३० फाल्गुन २०७३ १३:३१ सोमबार

संविधान कार्यान्वयनमा लफडा नगरौंः एमाले नेताहरु