राजनीति

भुटानी शरणार्थी प्रकरणले देशको इज्जत माटोमा मिलाउने काम भयो: माधव नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भुटानी शरणार्थी प्रकरणमा छानबिन गर्न सरकारले खुट्टा कमाउन नहुने बताएका छन्।नेपाली जनतालाई नागरिकता त्याग्न गर्न लगाएर मोटो रकम असुली देशको इज्जत माटोमा मिलाउने काम भएको भन्दै उनले दोषीलाई कारबाही गर्न सरकार पछि हट्न नहुने बताएका हुन्।

नेकपा एकिकृत समाजवादी सिन्धुलीको सातौँ जिल्ला अधिवेशन उद्घाटन सत्रमा सिन्धुलीमा आएका पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशको इज्जत माटोमा मिलाउने गरि यस्तो काम हुन पुगेकाले दोषीलाई कारबाही हुनुपर्ने धारणा राखे।उनले कोही पनि दोषी उम्कन नहुने र निर्दोषलाई फसाउन नहुने बताए।

अध्यक्ष नेपालले आफ्नो पार्टी भ्रष्टाचार तथा अन्य नराम्रो काममा नफसेको भन्दै पार्टी जनताको काममा लाग्ने बताए।अध्यक्ष नेपालले आफ्नो पार्टीले चाहेमा सरकार बन्ने र नचाहेमा सरकार ढल्ने भएकाले एकिकृत समाजवादी देशको महत्त्वपूर्ण पार्टी रहेको दावी गरे। बच्चा जन्मनेवित्तिकै दौडन नसक्ने भएकाले उदाहरण दिँदै नेता नेपालले सातै प्रदेशमा आफ्नो संरचना भैसकेको जिल्ला जिल्ला गाउँ देखि वडासम्म पार्टीको संरचना विस्तार भइरहेको नेता कार्यकर्तामाझ जानकारी दिए।

नेता नेपालले देशमा भएका ११ पार्टी मध्ये आफ्नो पार्टी चौथो स्थानमा भएको भन्दै अध्यक्ष नेपालले संविधान सभाको निर्वाचनमा राष्ट्रिय पार्टी बन्न नसक्नुमा आफूहरूकै कमजोरी भएको औँल्याए।तपाईहरु सबैले आफ्ना आफन्तलाई समानुपातिकमा हामीलाई भोट दिनुस् भन्न सक्नु भएन त्यसैले हामी राष्ट्रिय पार्टी बन्न सकेनौ उनले भने, तर हामी देशको शक्तिशाली पार्टीभित्रै पर्छौ।

२०७४ सालको निर्वाचनमा नेकपालाई जनताले ठुलो विश्वास गरेपनि केपी ओलीका कारण विकास गर्न नसकिएको जनाए।पानी जहाज र टावर ठड्याएर देशको रकम दुरुपयोग गरियो, हामीले त्यस्तो स्वीकार गर्न सकेनौ त्यसैले अन्तत अलग हुन पुगेका हौ उनले भने।

अध्यक्ष नेपालले आफ्नो पार्टीलाई कसैले कमजोर नठान्न आग्रह गर्दै  उनले आफ्नो पार्टी शक्ति केन्द्रमै रहेको दावी गरे।सातै प्रदेश सरकारमा आफूहरू रहेको भन्दै सिट जितेर पनि सरकार बनाउन नसक्नेको के काम भनेर औलो ठड्याउनु पर्ने बताए।

उनले नेकपा एमालेलाई इङिगत गर्दै पार्टी ठुलो भए पनि सरकार टिकाउन नसकेको बताए।व्याख्यात्मक टिप्पणी सहित एमसीसी पास गरेर बेठिक होइन हामीले ठिक काम गरेका छौ, उनले भने,त्यस कारण यस सम्बन्धमा कसैले विपरीत कुरा गर्छ भने त्यो पार्टी धारणा विपरीत हुन्छ।उनले देशलाई समृद्ध बनाउन र देशमै रोजगारीको अवसर श्रृजना गर्न आफूहरू लागि परेको धारणा राखे।

प्रकाशित: ६ जेष्ठ २०८० १०:४० शनिबार

भुटानी शरणार्थी प्रकरणले देशको इज्जत माटोमा मिलाउने काम भयो: माधव नेपाल पूर्व प्रधानमन्त्री नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल