राजनीति

‘नेपाल भियतनामबीच सिधा हवाई सम्पर्क विस्तार अपरिहार्य’

काठमाडौँ– कृषिप्रधान मुलुक भियतनामले कृषिलाई नै प्रमुखता दिएको नेपालसँग कृषि विकास र पर्यटन प्रवद्र्धनका निम्ति सहकार्य गर्न आतुर रहेको बताएको छ। 

नेपाल–भियतनाम उद्योग वाणिज्य सङ्घले शुक्रबार काठमाडाैंमा आयोजना गरेको कार्यक्रममा भियतनामका परराष्ट्र सहायकमन्त्री फाम सन चौले आफ्नो देशले आर्थिक–सामाजिक विकासका क्षेत्रमा नेपालसँग सहकार्य गर्न चाहेको बताए।

गौतमबुद्धको जन्मभूमि नेपाल भियतनामीका मन र मष्तिष्कमा रहेको बताउँदै उनले आधुनिक कृषि प्रणाली, जलविद्युत् उत्पादनमा आफ्नो देशले हासिल गरेको विज्ञता र अनुभव नेपालसँग बाँड्न चाहेको बताए।

भियतनामी पर्यटकका लागि नेपाल प्रमुख गन्तव्य हो भन्दै उनले दुई देशबीच सिधा हवाई सम्पर्क विस्तार अपरिहार्य भएको बताए।

“प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सँग आज बिहान भएको शिष्टाचार भेटमा पनि मैले आपसी सहकार्य र विकासमा साझेदारीबारे छलफल गरे, त्यसबाट हामी उत्साही छौँ,” उनले भने।  

नेपालका लागि भियतनामका अवैतनिक वाणिज्यदूत राजेशकाजी श्रेष्ठले चामल निर्यातमा विश्वको दोस्रो मुलुकका रुपमा स्थापित भियतनामले सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा हासिल गरेका उपलब्धिबाट नेपालले सिक्नुपर्नेमा जोड दिए।

सङ्घका अध्यक्ष दीपक मल्होत्राले धेरै समानता रहेको नेपाल र भियतनामबीच उद्योग, वाणिज्यका क्षेत्रमा आपसी सहयोग विस्तार गर्न सङ्घ क्रियाशील रहेको बताए। रासस 

प्रकाशित: २० फाल्गुन २०७३ १३:३३ शुक्रबार

नेपाल भियतनामबीच सिधा हवाई सम्पर्क विस्तार अपरिहार्य