राजनीति

टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। 

साेमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीमाथि अनुसन्धान गर्न ३ दिनको समय दिएको हो। 

सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले रायमाझीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेको थियो। सोहीअनुरुप अदालतले म्याद दिएको हो।

रायमाझी बुढानीलकण्ठ पासीकोटस्थित नारायण पौडेलको निवासबाट हिजो साँझ पक्राउ परेका हुन्।

प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष ब्युरोको टोलीले बुढानीलकण्ठस्थित पौडेलको घरमा लुकेर बसेको अवस्थामा रायमाझीलाई पक्राउ गरेको जानकारी गृहमन्त्री नारायणकाजी श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले दिए। रायमाझी शनिबार काठमाडौं आएको सूचनाका आधारमा प्रहरीले खोजी तीव्र पारेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको प्रमाण फेला परेपछि प्रहरीले रायमाझीलाई पक्राउ गर्न यही वैशाख २० गते काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएको थियो।  

पक्राउ पुर्जी जारी हुँदाको दिन रायमाझी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग गृहजिल्ला अर्घाखाँचीमा एक सार्वजनिक कार्यक्रममा थिए। सोही दिन अर्घाखाँचीबाट सभामुख घिमिरेसँगै बुटवल झरेका रायमाझी गौतम बुद्ध विमानस्थलबाट काठमाडौं आउने कार्यक्रम थियो। तर उनी काठमाडौं आएनन्।

विमानस्थलबाटै पक्राउ पर्ने डरले टिकट रद्द गरी उनी फरार भएका थिए। सुरुमा रायमाझीले नेपाल प्रहरीका उच्च अधिकारीसँग सम्पर्क गरी काठमाडौंमा हाजिर हुने आश्वासन दिएका थिए। तर उनी प्रहरीको सम्पर्कमा आउनुको साटो फरार भएका थिए। रायमाझीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले मातहतका ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो। 

रायमाझीको खोजीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को विशेष टोलीसमेत परिचालन गरिएको थियो। गृह मन्त्रालय स्रोतका अनुसार रायमाझी शनिबार मात्रै काठमाडौं आएका थिए। रायमाझीले नै यो प्रकरणमा गिरोहका मुख्य योजनाकार केशव दुलाल र सानु भण्डारीसँग मिलेर ‘राजनीतिक निर्णय’ गराउन भूमिका निर्वाह गरेको आरोप छ।

प्रकाशित: १ जेष्ठ २०८० १०:५४ सोमबार

नेकपा एमालेका नेता टोपबहादुर रायमाझी