राजनीति

प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ: नेता नेपाल

 पर्वत- नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने बताएका छन्।

जिल्लाको मुडिकुवा गाविसमा आज आयोजित सभालाई सम्बोधन गर्दै नेता नेपालले संविधान संशोधन प्रस्ताव नेपालीको हितमा नभएको बताए। प्रधानमन्त्रीले उक्त प्रस्ताव तत्काल फिर्ता लिँदा वा त्यत्तिकै थन्क्याउँदा उत्तम हुने उनको भनाइ थियो।

“संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पास हुँदैन,” नेपालले भने। संशोधन प्रस्तावको विपक्षमा एमालेसहितका आठ दल र राप्रपा तथा लोकतान्त्रिक मधेसी मोर्चा उभिएको उनले बताए। “संशोधन प्रस्ताव मधेसी समुदायको माग होइन,” नेता नेपालले भने। अहिलेको आवश्यकता तीनवटै तहको निर्वाचन भएको र यसका लागि सरकारले वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

निर्वाचन आयोगले निर्वाचनको तयारी गरिसकेको र मुलुक निर्वाचनतर्फ अग्रसर भइसकेकाले अब कुनै पनि अवस्थामा पछाडि हट्न नहुने नेपालले बताए। उनले न्यूनतम तीन प्रतिशत थ्रेस होल्ड राख्नुपर्ने माग अघि सारेको बताउँदै सम्भवतः आगामी निर्वाचनदेखि सोही कार्यान्वयन हुने बताए।

नेकपा (एमाले)ले सुरु गर्न थालेको मेची महाकाली अभियानलाई साथ दिन उनले आग्रह गरे। कार्यक्रममा एमालेका पुराना कार्यकर्ता तथा वृद्धवृद्धालाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो। नेता नेपालले आजै डिमुवामा होसो नेपालद्वारा सञ्चालित दुई दिन स्वास्थ्य शिविरको समेत उद्घाटन गरे। रासस

 

प्रकाशित: १४ फाल्गुन २०७३ १३:१८ शनिबार

प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव लिनुपर्छ नेता नेपाल