राजनीति

राप्रपा महाधिवेशन सम्पन्न

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन अध्यक्षसहित ९८ केन्द्रीय सदस्य चयन गर्दै बुधबार सम्पन्न भएको छ। बुधबार बिहान केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक गरेसँगै महाधिवेशन समापन भएको हो। फागुन ६ गते राजधानीमा भएको महाधिवेशनले अध्यक्षमा कमल थापालाई निर्वाचित गरेको छ।

केन्›ीय सदस्यका लागि भएको मतदानमा खुलाबाट बुद्धिमान तामाङ सबैभन्दा बढी मत पाएर विजयी भएका छन्। पार्टीका पूर्वउपाध्यक्ष एवं पूर्वमन्त्री तामाङले एक हजार नौ सय २८ मतका साथ विजयी भएका हुन्। दोस्रो स्थानका विक्रम पाण्डेले एक हजार नौ सय २६ मत पाए।

रेडियो नेपालको जागिरसमेत छाडेर राजनीतिमा होमिएकी कोमल वली एक हजार ८ सय ५७ मत पाएर तेस्रो स्थानमा विजयी भएकी छन्। राप्रपाका संस्थापक नेता स्व. सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा र पूर्वप्रधानमन्त्री लोकेन्›बहादुर चन्दका छोरा जयन्त चन्द पनि विजयी भएका छन्।

खुलातर्फ धवलशम्शेर राणा, राजेन्द्र लिङ्देन, जयन्त चन्द, राजीव पराजुली, प्रेम बलायर, ध्रुवबहादुर प्रधान, हेमजंग गुरुङ, दीपकबहादुर सिंह, भुवनकुमार पाठक, गोविन्दराज खनियाँ, राजेश गिरी, विक्रमबहादुर थापा, दिलविकास राजभण्डारी, रवीन्द्रप्रताप शाह, राजाराम श्रेष्ठलगायत ४० जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

समावेशीतर्फ मधेसीबाट सात, आदिवासी जनजाति नौ, उत्पीडित दुई, मुस्लिम दुई, कर्णाली एक, थारू एक, प्रवास दुई र पिछडिएको क्षेत्रबाट एक जना निर्वाचित भएका छन्।

महिला खुलातर्फ कुन्तीकुमारी शाही एक हजार आठ सय ४८ मतका साथ पहिलो स्थानमा विजयी भएकी छन्। कलाकारद्वय रेखा थापा (१६०३) र मीरा राणा (१४५२) क्रमशः दोस्रो र तेस्रो स्थानमा विजयी भए। त्यस्तै, प्रेक्षा मल्ल, प्रतिभा राणा, दुर्गा श्रेष्ठ, मीना सुवेदी, रोशन कार्की, विन्दु अधिकारी पहाडी, सरोज शर्मा, कमलादेवी शर्मा, सीता लुइँटेल ज्ञवाली, कान्ता भट्टराई, लीलादेवी श्रेष्ठ, यवती कार्की र पूजा राणा विजयी भएका छन्।

यसैबीच नवनिर्वाचित अध्यक्ष कमल थापालाई पार्टीका संस्थापक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले शपथ गराएका छन्। निर्वाचित केन्द्रीय सदस्यले भने अध्यक्ष थापाबाट शपथ लिएका थिए।

यसअघि बन्दसत्रमा अध्यक्ष थापाद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन  र विधान मस्यौदा समितिका संयोजक एवं उपाध्यक्ष तामाङले प्रस्तुत गरेको मस्यौदा विधान परिमार्जनसहित पारित गरेको थियो। महाधिवेशनले राजतन्त्रसहितको लोकतन्त्र र सनातन हिन्दु राष्ट्र नेपाल विधानको प्रस्तावनामा समेट्ने निर्णय  पारित गरेको छ।

राप्रपाको परिमार्जित विधानअनुसार पार्टी केन्›ीय कार्यसमिति एक सय ६३ सदस्यीय हुनेछ। कार्यसमितिमा अध्यक्षसहित २७ जना पदाधिकारी रहनेछन्। जसमा पाँच उपाध्यक्ष, चार महामन्त्री, पाँच सहमहामन्त्री, सात सहायक महामन्त्री, एक कोषाध्यक्ष, एक सहायक कोषाध्यक्ष, दुई प्रवक्ता र दुई सहायक प्रवक्ताको व्यवस्था गरिएको छ। 

केन्द्रीय पदाधिकारी र बाँकी सदस्य अध्यक्षबाट मनोनीत गर्ने विधानमा व्यवस्था छ। २५ सदस्यीय कार्यसम्पादन समितिको नाम भने अध्यक्षले केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गराउनुपर्नेछ ।

पार्टीको चुनाव चिह्नबारे निर्णय भने केन्द्रीय कार्यसमितिको बैठकबाट पारित गर्ने प्रवक्ता राजाराम श्रेष्ठले बताए।

प्रकाशित: १२ फाल्गुन २०७३ ०२:४७ बिहीबार

राप्रपा महाधिवेशन सम्पन्न