राजनीति

राप्रपामा अध्यक्षको लागि मतदान सुरु

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। भृकुटीमण्डपमा जारी एकता महाधिवेशनमा मध्यान्ह १२ बजेबाट अध्यक्ष पदको लागि मतदान सुरु भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।

अध्यक्ष पदमा कमल थापा र प्रदीपविक्रम राणाको उम्मेदवारी परेको छ।

प्रवक्ता श्रेष्ठका अनुसार मतदानमा ५४ वटा विद्युतीय मेशिनको प्रयोग गरिएको छ।  ‘अहिलेसम्म करिब दुईसय जनाले मतदान गरिसकेका छन्,’ उनले भने । महाधिवेशनमा करिब ३३ सय मतदाता रहेको उनले बताए।

प्रवक्ता श्रेष्ठले केन्द्रीय सदस्य पदका लागि दिउँसो २ बजेबाट मतदान सुरु हुने बताएका छन् । केन्द्रीय सदस्य पदमा तीन सय ६३ जनाको उम्मेदवारी परेको छ।

मतदानबाट कुल ९८ सदस्य निर्वाचित हुनेछन् । जसमा खुल्लाबाट ४० जना निर्वाचित हुनेछन्। समावेशीतर्फ मधेशीबाट ७, आदिवासी जनजाति ९, उत्पीडित २, मुस्लिम २, कर्णाली १, थारु १,  प्रवास २ र पिछडिएको क्षेत्रबाट २ (महिला १, पुरुष १) केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

त्यस्तै, समावेशीकै महिलातर्फ ५५ जनाको उम्मेदवारी परेको छ । यसबाट ३२ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन् । जसमा खुल्ला १६, मधेसी ५, आदिवासी जनजाति ६, उत्पीडित २, मुसलमान १,  कर्णाली १ र थारु १ रहनेछन्।

प्रकाशित: ९ फाल्गुन २०७३ ०८:३२ सोमबार

राप्रपामा अध्यक्षको लागि मतदान सुरु