राजनीति

पशुपतिनगरमा अध्यागमन र भन्सार आवश्यक: ओली

पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नेपाल–भारत सीमा क्षेत्र पशुपतिनगरमा। तस्बिर: भीम/नागरिक

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा-नाका पशुपतिनगरमा स्थापना गरिएको अध्यागमन सञ्चालन गर्न र भन्सार खुलाउन आफूले पहल गर्ने बताएका छन्।

उनले तेस्रो मुलुकका पर्यटकलाई भारत आऊ–जाऊ सहज बनाउन, सामान आयात–निर्यात गर्न दुवै कार्यालय आवश्यक रहेको बताए। पशुपतिनगर आएका ओलीले सीमा क्षेत्र निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै पशुपतिनगर पूर्वी क्षेत्रको सहज पहाडी नाका भएकाले अध्यागमन र भन्सार दुवै सञ्चालन गर्न जरुरी रहेको जनाए।

‘पशुपतिनगर भारतसँग जोडिएको महत्त्वपूर्ण पहाडी नाका हो, मैले पनि २०२६ सालमा यो ठाउँबाट पैदल यात्रा गरेको छु,’ उनले भने, ‘झापाको काँकडभिट्टामा नाका स्थापना हुनुअघि नै यहाँ पशुपतिनगरबाट आऊ–जाऊ हुन्थ्यो।’

पशुपतिनगर पहाडी क्षेत्रको महत्त्वपूर्ण ठाउँ भएकाले नाका खुल्दा व्यापारिक केन्द्रकै रूपमा विकास हुनसक्ने उनको भनाइ छ।

ओलीले भारत दार्जिलिङबाट आएका तेस्रो मुलुकका पर्यटक पशुपतिनगरबाट भित्रिन नपाउँदा बोझिलो भइरहेको भन्दै अध्यागमन सञ्चालन गर्नुपर्ने बताए।

‘हामी यसबारे भारतसँग कुरा गर्नेछौँ,’ उनले भने, ‘मलाई लाग्छ, भारतले पशुपतिनगर नाका र अध्यागमनको प्रस्तावलाई सकारात्मक रूपमा लिनेछ।’ 

प्रकाशित: १३ वैशाख २०८० १४:१९ बुधबार

केपी शर्मा ओली