राजनीति

'अर्को ल्होसारमा एमाले सरकार'

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी एक वर्षभित्र एमाले नेतृत्वको सरकार बन्ने बताएका छन्। तामाङ समुदायको नयाँ वर्ष ज्या ल्हो (चरा वर्ग) सोनाम ल्होसारको पूर्वसन्ध्यामा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, 'पहिला एमालेले तामाङ समुदायबाट मन्त्री बनाएन भन्ने यहाँहरूको गुनासो छ, अब धेरै समय पर्खनुपर्दैन, अर्को ल्होसार आसपास यहाँहरूको माग पूरा हुन्छ, एमाले नेतृत्वमा सरकार बन्छ।' 

एमालेसम्बद्ध लोकतान्त्रिक तामाङ संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले आगामी निर्वाचनबाट एमाले पहिलो पार्टी बन्ने दाबी गरे। 'आठ वर्षअघिको निर्वाचनबाट अस्वाभाविकरुपमा अगाडि आएको पार्टी पछिल्लो निर्वाचनबाट सही पोजिसनमा आएको छ,' माओवादी केन्द्रतर्फ संकेत गर्दै उनले भने, 'अबको निर्वाचनबाट ऊ अझ सही पोजिसनमा आउँछ। एमाले अगाडि बढ्छ।'

विभिन्न शक्ति संविधान कार्यान्वयन हुन नदिने चलखेलमा लागेको आरोप लगाउँदै ओलीले मुलुकमा संवैधानिक संकट आउन नदिन निर्वाचन अनिवार्य रहेको बताए। उनले भने, 'हामीले राजनीतिक परिवर्तन पूरा गर्‍यौं। अब विकास र समृद्धितर्फ अगाडि बढ्नुपर्छ। यसका लागि निर्वाचन अनिवार्य छ।'

विभिन्न जाति, समुदाय र भूगोलका नाममा मुलुकमा द्वन्द्व भड्काउन खोजिएको भन्दै उनले त्यसतर्फ सचेत रहन पनि आग्रह गरे। 'नेपाल जातीय, भाषिक, धार्मिक हिसाबले विविधता भएको मुलुक हो। विविधतालाई विभेदको रुपमा प्रयोग गर्नु अनुचित हुन्छ,' उनले भने। भौगोलिक, जातीय, सांस्कृतिक र धार्मिक संवेदनशीलतालाई समायोजन गरेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

एमाले सचिव एवं लोकतान्त्रिक आदिवासी जनजाति महासंघका अध्यक्ष पृथ्वी सुब्बा गुरुङ, अर्का सचिव गोकर्ण बिष्टलगायतले ल्होसारको शुभकामना दिँदै सबै जातिको पर्वलाई सम्मान गर्नुपर्ने बताए।

प्रकाशित: १५ माघ २०७३ ०२:४४ शनिबार

ल्होसारमा एमाले सरकार